व्यवसायिकता तर्फ लम्किदै सुदुरपश्चिमको साहित्य

देशमा आर्थिक सम्वृद्धिका मुद्धाहरुमा बहस हुनपर्ने आवाज उठिरहँदा प्रदेश नम्वर ७ अर्थात सुदुरपश्चिमका साहित्यकार र सर्जकहरु माँझ पनि यस मुद्धाले प्रवेश पाएको छनक देखिन थालेको छ । पहिले–पहिले कोठाभित्र सिमित व्यक्तीहरुका बिच सुनिने र सुनाईने साहित्य अहिले विस्तार भएको छ भने साहित्य पनि व्यवसायिक तर्फ लम्किरहेको संकेत देखिन थालेको छ ।विगतमा साहित्यलाई सित्तैमा सुन्ने र पढ्ने कुरा हो भन्ने धारणा बदलिएर अहिले साहित्य पनि पैसा तिरेर सुन्ने र पढ्ने परिपाटीको विकास हुन थालेको छ ।
अव साहित्यकारले खल्तीबाट खर्च गरेर कार्यक्रमहरु गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ की भन्ने आशा पनि पलाउन थालेको छ ।
२०७३ साल कार्तिकमा सुदुरपश्चिमको प्रमुख शहर धनगढीमा टिकटमा सृजनाहरु सुनाउने कार्यक्रमको सुरुवात भयो, एकल साहित्य साँझ कार्यक्रम मार्फत । त्यस अघि गायक गायिकाहरुका लागि धनगढी, महेन्द्रनगरमा एकल साँझ राखिए पनि साहित्यकारहरुकै लागि भने खासै आयोजना गरिएको थिएन् ।
उक्त कार्यक्रमको आयोजना अघि धेरैले श्रृजनाहरु पनि पैसा तिरेर सुन्छन भन्ने जिज्ञासा राखेका थिए । टिकट काटेर साहित्यिक कार्यक्रममा सहभागी हुने प्रचलन नभएका बेला जनक रसिकको पहिलो साहित्य साँझमा डेढ सय र डिल्लीराज ओझाको दोश्रो एकल साँझमा २ सय बढीले टिकट काटेर धनगढीको साहित्यलाई व्यवसायिकता तर्फ लैजाने माहोल बनाए ।
गत साल कवि हेमन्त विवशले पनि कविता वाचन मार्फत धनगढीवासीको मन जिते । डोट्याली कवि हेमन्त विवशले धनगढीका साहित्यप्रेमीलाई मन्त्रमुग्ध बनाए । गीत, गजल र कवितामा भुइँ मान्छेका कथा उन्दै आएका कविले तिनै सीमान्तकृतहरुको आवाज बुलन्द गरे ।
साहित्यले व्यवसायिक बाटो रोजिरहँदा सुदुरपश्चिममा पनि ठुलो सहभागिताका बिच साहित्यिक कार्यक्रमहरु हुन थालेका छन् । त्यसमा पनि यस क्षेत्रका प्रमुख शहरहरुमा सहभागीहरुबाट केही शुल्क लिएर सृजनाहरु सुनाउने क्रम सुरु भएपछि यस क्षेत्रको साहित्यले पनि व्यवसायिकता खोजिरहेको छनक दिएको छ ।
पैसा तिरेर साहित्य सुन्ने मात्रै होईन पछिल्लो समय साहित्यिक पुस्तकहरु किनेर पढ्ने पाठकहरु पनि बढिरहेका छन् । लेखकहरु अब सृजना गरेरै पनि बाच्न सक्छन् भन्ने कुराको संकेत साहित्यिक पुस्तकहरुको बढ्दो विक्रीले देखाएको छ । ऐना कथा संग्रह प्रकाशनको एक बर्षमै सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष समेत रहेका मदन पुरस्कार विजेता रामलाल जोशीले रजत संस्करण निकाले ।
कुनै साहित्यकारले लेखेको गीत गाउने गायक र गायिकाले गित सुनाउँदा हजारौको टिकट काट्न पनि अग्रसर हुने तर सयौँ कविता र गीतहरु लेखेका तिनै साहित्यकारले सित्तैमा कवता र गित सुनाउनुपर्ने अवस्थाको अन्त्य नभएसम्म साहित्यकार र साहित्यको विकास अपेक्षित रुपम हुन सम्भव छैन् ।
सःशुल्क साहित्यका लागि सुदुरपश्चिममा केही प्रयासहरु भएपनि त्यसलाई पर्याप्त भन्न सकिदैन । तर पनि शुक्ल तिरेर साहित्य पढ्न र सुन्न पर्छ भन्ने मानसिकताको विकास भने भईरहेको कर्णाली ब्लुज र फिरफिरेका लेखक साहित्यकार बुद्धिसागरको छ ।
साहित्यिक पुस्तकहरु किनेरै पढ्ने बानीको विकास भईरहेपनि टिकट काटेर साहित्य सुन्नका लागि त्यस्ता कार्यक्रमहरु नियमित रुपमा भईरहेका छैनन् । लेखकहरु लेखेरै बाँच्ने अवस्था सृजना गर्ने हो भने सःशुल्क साहित्यिक कार्यक्रमहरु भईरहनुपर्ने र पाठकहरुको मानसिकता पनि फेरिनुपर्ने देखिएको छ ।




