गाउँ र दन्त्यकथा
मनझैं चर्किएर धाँजा परेका खेतका गराहरुमा
बाउसे गरिरहन्छ अनिकाल ।
सपनाहरुझैं फलिरहन्छन् भोकहरु यत्रतत्र ।
नदीहरुझैं आँसु बगिरहन्छ खेतका समाहाहरुमा
पसिना रोइरहन्छ सम्भावनाका आली र कान्लाहरुमा
छैनन् बाउसेहरु ÷ तन्नेरीहरु
र पर्खिरहन्छ आरन प्रत्येक बर्ष –
खिया लागेर थन्केका हलोहरु , कोदालीहरु
पहिरो गएको गाउँको अनुहारमा
बिहान हिँड्न नपाउँदै अस्ताइसक्छ व्यस्त घाम
र बगाइसक्छ गाउँ–गाउँबाट
अचेल गाउँ रित्तो भएको छ
प्रियसीले छोडेपछिको रित्तो मुटु जस्तै भएको छ
सन्तान गुमाएको पीरमा
रुँदारुँदा आँसु निख्रीसकेको
विधवाको आँखाजस्तै एकदम रित्तो भएको छ
सहदा–सहदा दुःखहरु
दुख्न छोडेको छातीजस्तै भएको छ
बरपीपलको चौतारामा उसैगरी परेड खेल्छन् –
मुसाफिर जस्ता चराहरु ।
भुनभुनाउँदै हिँड्ने माहुरीहरु
रोपाराहरुलेझैं असारे गीत गाउँदै
रुवाउँछन् बाँझो खेत र गराहरु ।
मनहरुझैं यताउति डुलिरहने हावाका झोँकाहरु
हल्लाउँदै रुखका पातहरु,
लिएर आउँछन् परदेशी सम्झनालाई ।
एउटा सानो खुसीसम्म रुन नपाउँदै
घोप्टो परेर रुन थाल्छन् बाआमाहरु
रेमिट्यान्स गन्हाउने छोराहरुको लासमाथि ।
सधैंसधैं प्रत्येक घरको पिँढीमा
एउटा जून उदाउँछ – पर्खाइको
र उसैगरी अस्ताउँछ आशाको एउटा स्वप्निल तारा ।
पखर्दा–पखर्दा छोराहरु आउने दिन
समयको क्यानभासमा नरङ्गिदै
मेटिइसक्छन् बाआमाका सपनाहरु
गुज्रिइसक्छन् हजुरबा र हजुरआमाका दन्त्यकथाहरु ।
प्रत्येक दिन
बीच गाउँमै गनाउँछ एउटा बुढो लाश ।
स्कुल जान छोडेर केटाकेटीहरु
कलिला मुनाजस्ता हातहरुले
चिहान खन्न थालेका छन्
र भन्न थालेका छन् – ‘अचेल गाउँ दन्त्यकथाजस्तै भएको छ‘
टीकापुर