सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र सिटामोलसमेत छैन

२०७५ वैशाख ३१, ०२:१२

बाजुराको त्रिवेणी नगरपालिकास्थित तोली स्वास्थ्य चौकीको सेवा अस्तव्यस्त छ। स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा संस्थाले दिने सेवा अस्तव्यस्त अवस्थामा पुगेको स्थानीयवासीले गुनासो गरेका हुन्। सात जनाको दरबन्दी रहेको हाल स्वास्थ्य चौकीमा एकजना अनमी देवकी गौमतमात्र कार्यरत छिन। स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी कोही बिदामा र कोही दरबन्दी मिलान गरेर अर्को ठाउँमा गएपछि स्वास्थ्य सेवा प्रभावित बनेको अनमी गौतमले बताईन।

स्वास्थ्यकर्मी नहुँदा उपचारसहित प्रसुति सेवासमेत प्रभावित भएकोे छ। बिहान बेलुका एकैजनाले सेवा दिन नसकिने हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको उनले बताईन। स्वास्थ्य चौकीमा दैनिक २५ जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् तर स्वास्थ्यकर्मी नहुँदा सेवा नपाएर घर फर्किनु पर्ने बाध्यता रहेको स्थानीय वीरेन्द्रबहादुर साउदले गुनासो गरे। स्वास्थ्य चौकीमा कर्मचारीसँगै औषधि पनि अभाव छ गर्मीका बेला पखालाको संक्रमण बढ्ने हुँदा सलाइनलगायतका सामान्य औषधि पनि अभाब छ।

औषधि गएको वर्ष मंसिरदेखि कमी भए पनि चरम अभाव चैतदेखि भएको बताइएको छ। स्वास्थ्य चौकीमा दुईजना अहेब, दुईजना अनमी, दुईजना कार्यालय सहयोगी कार्यरत छन् तर प्रायः सबैजना स्वास्थ्य चौकीमा उपस्थित हुने गरेका छैनन्। स्वास्थ्य चौकीका इन्चार्ज वीरबहादुर अयडी उक्त नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि कार्यालय प्रमुख विहीन बनेको छ। 
रासस 
 

कमेन्ट लोड गर्नुस