सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्चल विश्व विद्यालयलाई आंगिक क्याम्पस समायोजन गर्न बाटो खुल्यो (अडियो रिर्पोट)

२०७५ वैशाख १७, १०:२३

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस समायोजन कार्यविधि २०७४ संसोधनको माग गर्दै सर्वोच्च अदालतमा गत फागुनमा परेको रिट निवेदन खारेज भएको छ। गत पुषमा सम्पन्न विशेष वार्षिक साधारण सभाले पास गरेको समायोजन कार्यविधिमा चित्त नबुझेपछि आंगिकता पाउने १५ वटा क्याम्पसका केही पदाधिकारीले संसोधनको माग गर्दै सर्वोच्च अदालतमा हालेको रिट निवेदन शुक्रबार खारेज गरिएको हो।

विश्वविद्यालयको आंगिक क्याम्पस समायोजन कार्यविधि २०७४ ले आंगिकता प्रदान गरिने १५ वटा क्याम्पसमा हाल कार्यरत शिक्षक कर्मचारीलाई सोही अनुसार समायोजन गरिने भनि उल्लेख गरेको बँुदामा चित्त नबुझेकाहरुले संसोधनको माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्चले खारेज गरेपछि विश्वविद्यालयलाई आंगिक क्यामप्स समायोजनका लागि बाटो खुलेको छ। रिट निवेदन खारेज भएकाले अब महिनौँदेखि रोकिएको आंगिक क्याम्पस समायोजन प्रक्रिया छिट्टै थाल्ने विश्वविद्यालयका उपप्रशासक गोविन्द बल्लभ पन्तले बताए।

विश्वविद्यालयको आंगिक क्याम्पस बन्ने १५ वटा क्याम्पसका लागि शिक्षा विभाग र अर्थ मन्त्रालयले यसअघि गत असोजमा ४ सय ४४ दरबन्दी समेत स्वीकृत गरेको थियो भने मन्त्रीपरिषद बैठकले समेत निर्णय गरेको थियो। आंगिक क्याम्पस  समायोजन कार्यविधि संसोधनको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएकोले अब आंगिकता प्रदान गर्न कानुनी अडचन हटेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कानुनी सल्लाहकार टंक दुलालले जनाए। आंगिक क्याम्पस विस्तारका लागि अब छिट्टै सूचना जारी गर्ने विश्वविद्यालयले जनाएको छ।

अहिले त्रिभुवन विश्व बिद्यालय मातहत रहेका ती क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीको भविष्य अन्योलमा नपरोस भनि त्रिभुवन विश्वविद्यालयसँग समन्वय पनि जारी राख्ने र १५ ओटा क्याम्पसलाई आंगिकताको प्रक्रिया पनि संगसंगै अगाडी बढाउने विश्वविद्यालयका उपप्रशासक गोविन्द बल्लभ पन्त जानकारी दिए। कैलालीको कैलाली बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी वहुमुखी क्याम्पस, टिकापुर वहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी बहुमखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस, बडिमालिका क्याम्पस, बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, मणिलेक बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, डोटीको सीताराम बहुमुखी क्याम्पस र घन्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसलाई आंगीक क्याम्पसका रुपमा विस्तार गर्ने सुदूरपश्चिम विश्वविद्यालयको तयारी छ।   

अडियो रिर्पोट:-

 

कमेन्ट लोड गर्नुस