वडा कार्यालयमा लगाएको तालाबन्दी खुल्यो
बैतडीको सुर्नया गाउँपालिका–१ मा विगत आठ दिनदेखि गरिएको तालाबन्दी आज खोलिएको छ। सुनर्या गाउँपालिका–१ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै केही राजनीतिक दलका स्थानीय प्रतिनिधिले विज्ञप्ति जारी गर्दै गत चैत २७ गते तालाबन्दी गरेका थिए। साबिककोे हटैराज गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले अबउपरान्त योजना निर्माणका काममा बाधा नपु¥याउने तथा निर्माणका काम सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष कलशबहादुर चन्दले जानकारी दिए। सर्वपक्षीय तथा सर्वदलीय उक्त बैठकले स्थानीयवासीले राखेको मागको सम्बोधन गर्ने गरी सहमति भएको जनाएको छ।
यसअघि गत चैत २७ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गर्नाका साथै विकास निर्माणका काममा समेत उनीहरुले अवरोध पु¥याएका थिए। सुर्नया–१ हटैराजमा क्रियाशील राजनीतिक दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा राप्रपाका प्रतिनिधिद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा वडाध्यक्ष कलशबहादुर चन्दले निर्णय एकलौटी गरेको आरोप लगाएका थिए। यता वडाध्यक्ष चन्दले भने वडा र गाउँसभाबाटै पारित भएका योजनालाई कार्यान्वयन गरिरहेको बताएका छन्।
रासस