बैतडीमा बस दुर्घटना, १४ जना घाइते

बैतडीबाट महेन्द्रनगरका लागि छुटेको बस दुर्घटना हुदा १४ जना घाइते भएका छन्। बैतडीको दशरथचन्द राजमार्गमा सोमबार बिहान भएको बस दुर्घटनामा चालकसहित १४ जना घाइते भएका हुन्। बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नम्बरको बस दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–१०, अनारखोलीमा बिहान पौने ३ बजे दुर्घटना भएको हो। बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि ब्याक हुन गई सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ। बस दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका–४ का बस चालक ३५ वर्षीय लोकेन्द्र थापासहित १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइतेमध्ये चालक थापाको अवस्था गम्भीर रहेको छ। घाइते सबैको सुदूरपश्चिम उपक्षेत्रिय अस्पताल, डडेल्धुरामा उपचार भइरहेको छ।




