दुई महिना देखि सिचाई प्रमुख अनुपस्थित, कार्यालयको कामकाज प्रभावित
अछामको मंगलसेन स्थित सिचाँई विकास डिभिजन कार्यालय करिव दुई महिना देखि प्रमुख विहिन हुँदा कार्यालयको कामकाज प्रभावित बनेको छ । सिचाँई डिभिजन प्रमुख बरुण कुमार कर्ण फागुन ७ गते देखि कार्यालयमा अनुपस्थित हुँदा कार्यालयको दैनिक कामकाज देखि योजनाको सम्झौता, भुक्तानी लगायतका कामकाज प्रभावित भएका हुन्। कार्यालय प्रमुख नहुँदा कर्मचारी दिनभर घाम तापेर दिन काटिरहेका छन्।
सिनियर डिभिजन इन्जिनिएरको दरबन्दि रहेको सिचाँई विकास डिभिजन दुई बर्ष पहिले स्थापना भएको हो। यस अवधिमा पाँच जना प्रमुख आइसकेका छन् । कार्यालय प्रमुख अनुपस्थित हुँदा क्रमागत रुपमा रहेका योजनाको नयाँ सम्झौता तथा ठेकेदारको रकम भुक्तानीको काम पुरै रोकिएको सूचना अधिकारी नरेशबहादुर थापाले जानकारी दिए। केहि योजनाको सम्झौता बिना नै काम संचालन गरिरहेको जानकारी दिर्दै थापाले रकम भुक्तानी र सम्झौताका लागि आफूहरुलाई दिनहुँ फोन गरेर प्रमुख नभएको खबर सुनाउँदै हैरानी बनेको सुनाए।
कार्यालय प्रमुख नहँुदा कर्मचारी मनोमानी ढंगले फिल्ड जाने काम भइरहेको छ । सबै समान तहका कर्मचारी हुँदा कसलाई कता खटाउने र कस्ले भनेको कोले मान्ने भन्ने समस्या रहेको थापाले सुनाए । चैत्र १ गतेबाट नयाँ सारिएको कार्यालय भवनमा फोन लाईन पनि सारिएको छैन भने अन्य सबै व्यवस्थापनको काम पनि लथालिंग छ। पटक पटक कार्यालय प्रमुख फेरबदल भइरहने डिभिजनमा गत आर्थिक बर्ष छ करोडको योजना तथा बजेट स्वीकृती भए पनि जम्मा दुई करोड ७९ लाख बराबर मात्र खर्च भएको छ । लामो समय सम्म प्रमुख अनुपस्थित हुँदा यो वर्ष पनि बजेट खर्च नहुने देखिएको छ।