त्रिदेशीय सीमा क्षेत्रमा सशस्त्र र प्रहरीको संयुक्त गस्ती
दार्चुलाको उत्तरी त्रिदेशीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुला र नेपाल प्रहरीले गस्ती सुरु गरेको छ । राज्यको पहुँच नहुँदा हुने गरेको प्राकृतिक स्रोतको दोहन, चोरी सिकारी तथा तस्करीका साथै सीमा अद्यावधिक तथा अपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरीको टोलीले संयुक्त गस्ती सुरु गरेको हो । हरेक वर्ष यस अवधिमा हिमाली सीमामा अवैध गतिविधि बढ्ने तथा तिंकर नाका हुँदै तस्करीसमेत हुने गरेपछि संयुक्त गस्तीमा गएका हुन् । त्रिदेशीय सीमा क्षेत्रको गस्तीमा नेपाल प्रहरीले ट्रेकिङमा सघाउने छ । नेपाल प्रहरी सीता पूलबाट तिंकर सरेर संयुक्त रुपमा गस्ती गर्नेछन् । सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली बन्दोबस्तीका सामान सहित व्यास गाउँपालिकाको तिंकर हुदै लिपुलेकसम्म सीमा क्षेत्रमा गस्ती तथा सीमा निगरानीमा निस्केको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाका डिएसपी अम्बिकाप्रसाद जोशीले बताए । उनका अनुसार सशस्त्र प्रहरी निरीक्षक विकास थापाकोे नेतृत्वमा बन्दोबस्तीका सामान सहित ३२ जनाको टोली सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न, सीमा क्षेत्रमा गएको छ । सीमा क्षेत्रमा भइरहेका गतिविधिको नियन्त्रण, अपराधिक गतिविधि नियन्त्रण, चोरी सिकारी तथा अवैध पैठारी, त्रिदेशीय सीमा बिन्दु लिपुलेकसम्मको सीमा निगरानी गर्न संयुक्त गस्ती निस्किएको हो ।
मौसम प्रतिकुल भए गस्ती टोली व्यास गाउँपालिकाका वडा नं. १ को त्रिदेशीय सीमा तिंकर हुँदै लिपुलेक पिलर नम्बर १ सम्म पुग्नेछ । सशस्त्र र नेपाल प्रहरीको टोलीले ब्याँस गाउँपालिकाको वडा नम्बर १ मा पर्ने लिपुलेकमा रहेको चीन र नेपालको सीमाना छुट्याउने पिलर नम्बर १ को समग्र अवस्थाका बारेमा जानकारी लिने र सीमा क्षेत्रमा हुने चोरी तस्करी तथा अवैध सामग्री नियन्त्रणमा लिनेछ । दार्चुलाका हिमाली क्षेत्रमा पाइने विभिन्न लोपउन्मुख वन्यजन्तुको चोरी सिकारी कार्यलाई नियन्त्रण गर्न अवैध हातहतियार भएको शंका लागेको घरमा छापा मारेर नियन्त्रणमा लिने गुल्मपति जोशीको भनाई छ । सीमा क्षेत्रको सुरक्षा चुनौती र सीमा स्तम्भहरुको अवस्था बुझ्न खटिएको सशस्त्र प्रहरीले यार्सा संकलकलाई समेत सुरक्षा दिनेछ । अहिले दार्चुलाका यार्सा पाइने लेकहरुमा यहाँका स्थानीयहरु यार्सा टिप्न गएका छन्। नेपाल प्रहरीको टोली समेत सशस्त्र प्रहरीसँग सँगै गएको छ । नेपाल प्रहरीको विशेष टोली सशस्त्र प्रहरी भन्दा अघि निस्केको छ । दार्चुलाको उत्तरी सीमामा राज्यको नियमित उपस्थिति नहुँदा वर्षेनी अवैध वन्यजन्तुको चोरी सिकारी, ओखेटोपहार तस्करी तथा नेपालको भुभागमा भारतीय पक्षले आफू अनुकुलका गतिविधिहरु संचालन गरिरहेको अवस्थामा सुरक्षा निकायको उपस्थिति अपरिहार्य रहेको स्थानीयको भनाई छ ।