अब मदिरा मध्यान्ह १२ बजे अघि विक्रि गर्न नपाइने
दार्चुला सदरमुकाम खलंगामा अव्यवस्थित रुपमा विक्रि वितरण भइरहेको मदिरालाई व्यवस्थित गरिने भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले होटल व्यवसायिसँग छलफल गरी मध्यान्ह १२ बजेदेखि राती ९ बजेसम्म मदिरा विक्रि वितरण गर्ने सहमति गरेका हुन्। बिहान ६ बजेदेखि राती १० बजेसम्म मदिरा विक्रि वितरण गर्दा समाजमा अपराधिक क्रियाकलाप बढ्ने भन्दै होटल व्यवसायिलाई व्यवस्थित गर्न आग्रह गरेको हो।
मदिरा एवं होटल व्यवसायिले बिहान १० बजे होटल खोलेर खाजा पकाउने र सरसफाई गर्न पाएपनि मदिरा विक्री गर्न पाउने छैनन्। यस्तै मदिरा ऐनले तोके अनुसार मदिरालाई व्यवस्थित र छोपेर मात्रै विक्रि गर्ने सहमति गरेका छन्। यस्तै उमेर नपुगेका व्यक्तिले मदिरा विक्रि गर्न र पिउन नदिइने भएको छ। यसैगरी होटलमा परिचित तथा अपरिचित व्यक्ति बस्न आएमा इन्ट्री अनिवार्य गरिएको छ। प्रहरीले शंका लागेमा जुनसुकै बेला होटलमा छापा हान्ने सक्ने भन्दै सकेसम्म अपरिचित र एक घण्टेका दरले आउने ग्राहकको पहिचान गर्न आग्रह गरेको छ। होटल पसलमा जुवा तास पूर्ण रुपमा बन्द गर्न भनिएको छ। प्रहरीले अपराध नियन्त्रणको लागि मदिरा व्यवस्थापन गर्न व्यापारीलाई आग्रह गरिएको डिएसपी नवराज अधिकारीले बताए। झण्डै १ सय व्यापारीको उपस्थितीमा मदिरा व्यवस्थापन गर्ने विषयमा चार वटा निर्णय गरिएको छ।