अछाममा आठ वर्षीया बालिका बलात्कृत
अछामको साँफेबगर नगरपालिकामा एक आठ वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकाकी आमा रोपाई गएको बेला २ बर्षकी बहिनी हेर्न बसेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। पानी माग्ने निहुँमा गएका देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेको आरोप छ। घटना असार २० गते भएपनि घरमा आफू एक्लो रहेको र पति भारतमा भएकोले डरले उजुरी नदिएको पीडितकी आमाले बताएकी छन। भारतमा रहेका बालिकाका बुवा र बाजुरामा रहेका ठुलो बुवाको सल्लाहमा २८ गते प्रहरीमा जाहेरी गरेको उनले बताइन्। पीडीत बालिकाको जिल्लामा उपचार भइरहेको छ। बलात्कारको आरोप लागेका रेवन्त भने परिवारसहित भारत पसेका छन्। ‘हामीले आरोपीको हुलियासहित परिपत्र गरेका छौं। भारतमा भए समन्वय गरेर थप प्रक्रियामा जान्छौं’ डीएसपी रुकेश तण्डुकारले भने।