सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसाय दर्ता गरेरै  भारतीय नागरिक कुखुरा तस्करीमा संलग्न 

२०७४ चैत्र २४, ०६:४८

पछिल्लो समय कैलालीमा धेरै किसान कुखुरा पालन व्यवसायतिर आकर्षित भएका छन् । तर लगानी अनुसारको प्रतिफल प्राप्त  नहुँदा उनीहरु बेला बखत समस्यामा पर्दै आएका छन् ।

भारतबाट हुने अवैध कुखुरा ओसारपसारले समस्यामा पर्दै आएका नेपाली व्यवसायी फार्म सञ्चालन गरेर भारतीय कुखुराको तस्करी हुन थालेपछि थप मर्कामा परेका छन् । 


कैलालीको कैलारी गाँउपालिकामा एक भारतीय नागरिकले व्यावसाय दर्ता गरी कुखुरा र माछाको तस्करी गरिरहेको आरोप लागेको छ । भारतको पलियाकलाका अशोक कुमारले कैलारी गाँउपालिकाबाट व्यापार÷व्यावसाय ईजाजत पत्र लिएर वडा नम्बर ४ को हसुलियामा अशोक पोल्ट्री फार्म एण्ड माछा सप्लार्यस नामक फार्म खोली कुखुरा र माछाको कारोबार गर्दै आएका छन् ।

नेपालमा अस्थायी वसोवास गर्ने कुमारले व्यवसाय नै दर्ता गरेर अवैध रुपमा व्यवसाय सञ्चालन गरिरहेको र त्यसले आफूहरु मर्कामा परेको भन्दै नेपाली कुखुरा व्यवसायीले विरोध गरेका हुन् । कुखुरा तथा अण्डा उत्पादन संघ कैलालीका अध्यक्ष भुवन पाण्डेयले नेपालमा स्थायी बसोबास नभएका भारतीय व्यक्तिलाई  गाँउपालिकाले दिएको इजाजत माथि छानविन हुनुपर्ने बताए ।  


कुमारले भारतमा समेत प्रतिबन्धित लायर्स जातको सेतो कुखुरा र मंगुर जातको माछा भारतबाट तस्करी गरी प्रदेश नम्बर ७ को कैलालीका विभिन्न बजार सहित पहाडी जिल्लामा समेत सप्लाई गर्दै आएको नेपाली व्यावसायीको भनाई छ ।

कुमारले सुरक्षा निकायकै सेटिङमा कुखुराको तस्करी गर्ने गरेको अरोप व्यवसायीको छ । गाँउपालिकाले भारतीय नागरिकलाई नै व्यवसाय सञ्चालनका लागि ईजाजत दिएपछि भइरहेकोव्यावसायिक  कुखुरा तस्करीले नेपाली व्यवसायी मर्कामा त परेका छन् भने यसले मानव स्वास्थ्यमा असर पार्नुका साथै पोल्टी व्यवसायबाट प्राप्त हुने स्वरोजगारका अवसर समेत गुमेको धनगढीका अर्का कुखुरा व्यवसायी भुवन भट्ट बताउछन् । 

उता कैलाली गाँउपालिकाका अध्यक्ष लाजुराम चौधरी भने आफ्नै गाँउपालिकामा भारतीय नागरिकले व्यावसाय सञ्चालन गरेको विषयमा अनभिज्ञ जस्तै देखिएका छन् ।  २ महिना पहिले ती व्यक्ति व्यावसाय दर्ता गर्ने भन्दै गाँउपालिकामा आएको तर आफूले सो व्यक्तिलाई इजाजत दिन मिल्ने नमिल्ने विषयमा गाँउ पालिकाको प्रशासन फाँटलाई सोधेको अध्यक्ष चौधरीको भनाई छ । तर, गाँउपालिकाले कुमारलाई व्यावसाय सञ्चालनका लागि इजाजत पत्र दिइसको छ । यता, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले व्यवसायीले उजुरी दर्ता गरेपछि सो विषयमा बुझिरहेको बताए । 
  
    

कमेन्ट लोड गर्नुस