सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा त सुन फलाउने माटो छ, के लागि विदेश जाने ? (भिडियो)

पौरखी हातहरुः श्रृंखला ०२

२०७५ वैशाख २९, ०८:३२

डेढ दश अगाडी धनगढी, अत्तरीया र आसपासका क्षेत्रमा साईकलमा दुध बोक्दै दैनिकी चलाउने युवाहरुको सुचीमा कैलाली गेटाका पुष्पराज पन्त पनि पर्थे । २०५९ सालमा पहिलो पटक बैतडीबाट तराई झरेपछि पन्तको दैनिकी दुध विक्री गरेरै वित्यो । तर विहान दुध विक्री गरेर दिउसोको समय पुष्प खेतीमा लगाउने निधो गरेका पन्तलाई त्यति वेला कृषि पेशामा लागेर के हुन्छ भन्ने प्रश्न घर परिवारकै सदस्यबाट पनि आयो ।

तर एक दशक लामो समय पुष्प खेतीमा जमेका पुष्पराजलाई दैनिकी चलाउनकै लागि विदेश जान पर्ने बाध्यता आउन दिएन् । पुष्प खेतीबाटै पुष्पराजको प्रदेश नम्वर ७ मा छुट्टै परिचय बनाईदियो । दशक लामो समय सम्म पुष्प खेतीमा सक्रिय रहेका पन्तले २०६९ सालमा राष्ट्रपती उत्कृष्ट कृषक पुरुष्कार पाए । सोही पुरस्कार पाएपछि मरुभुमीमा कृषि क्रान्ती गरेको देश इजरायल जाने मौका जुरायो ।

इजरायल गएर त्यहाँ माषिक डेढ दुई लाख कमाउने अवसर पनि थियो । पन्तले इजरायल पुगेर दुई हप्ता सम्म त्यहाँको कृषी क्रान्तीको पाठ सिके तर इजरायलमै पसिना बगाउनुभन्दा आफ्नै देशमा आएर त्यस्तै कृिष क्रान्ती गर्ने मन बनाए । पन्तले १ करोड २३ लाखको लगानीमा इजरायली प्रविधिमा आधारित ग्रीनहाउस निर्माण गरी मुख्यतः टमाटर र भेडे खुर्सानीको खेती सुरु गरे ।

डेढ विगाह क्षेत्रफलमा फैलीएको ग्रीन हाउस नेपालकै ठुलो र सुदुरपश्चिमको पहिलो थियो । घरजग्गा बंैकमा राखेर झण्डै १९ लाखको थोपा सिंचाई प्रणाली सञ्चालन गर्दै पन्तले पहिलो पटक व्यवसायीक मेवा खेती गर्दा घरपरिवारकै सदस्यबाट धेरे प्रश्नको सामाना गर्नुप¥यो । कैलालीको गेटा विमानस्थल नजिकै ५ बिगाहा जमीन भाडामा लिएर २० लाख लगानीमा मेवाखेती शुरू गरेका थिए । 

इजराइलबाट मेवाको बीउ आयात गरी ‘युरिगेशन पद्धति’बाट मेवा उत्पादन गरेका थिए । उत्कृष्ट राष्ट्रिय कृषक सम्मानबाट सम्मानित पन्तले निरन्तरको मेहनतबाट कृषि व्यवसायमा सफलता हासिल गर्न सकिन्छ भन्ने कुराको पुष्टी गरिदिएका छन् । ५ विगाहा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका पन्तले अहिले पनि पुष्प व्यवसाय छोडेका छैनन् । जिल्ला कृषि विकास कार्यालय, बन कार्यालय र भु–संरक्षण कार्यालयका लागि पनि बोटाहरु उत्पादन गर्दै आएका छन् ।

\व्यवसायीक कृर्षी खेतीबाटै १३ जनालाई रोजगारी दिएर उनिहरुको परिवारलाई चुलो बाल्न सहयोग गरेका छन् । प्रदेश नम्वर ७ मा इजारयलको कृषि प्रणालीको सिको गर्दै कृषी क्रान्ती ल्याउन खोज्ने पन्तको विचारमा प्रदेशको समद्धी व्यवसायीक कृषीबाटै सम्भव छ । त्यसका लागि आफ्नै देशमा काम गर्न ईच्छुक पौरखी हातहरु र नीति निर्माण तहमा समृद्धीका सपना बोकेका नेताहरुको आवश्यकता छ ।

पारिवारिक सहयोग प्राप्त नहुँदा पनि आँट र धैर्यका साथ कृषिमा लगानी गर्न सके सफल व्यवसायी बन्न सकिन्छ भन्ने कुराको पन्तले पुष्टी गरिदिएका छन् । जरायलको  मरुभुमीमा कृषी क्रान्ती देखेर फर्कीनुभएका पन्त भन्नुहुन्छ नेपालमा त सुन फलाउने माटो छ, के लागि विदेश जाने ? 
 

कमेन्ट लोड गर्नुस