सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाईवस्तुको मलमुत्रलाई प्राङ्गारिक विषादीको रुपमा प्रगोग गर्न सकिने

२०७५ जेठ ५, ०३:२४

कैलाली र कञ्चनपुरमा पछिल्लो समय गाईगोरु छाडा छोड्ने प्रवृत्ति बढ्दै गएको छ। दुध दिन छोडेपछि गाईवस्तुलाई छाडा छोडिदिने परम्पराका कारण छाडा पशुचौपाया व्यवस्थापनमा स्थानीय तहहरुलाई समेत चुनौति थपिएको छ। तर छाडा छोडिने तीनै गाईवस्तुको मलमुत्रको महत्वबारे ज्ञान नहुदा यहाँका धेरै किसानले अहिले पनि खेतीबालीमा लाग्ने विभिन्न रोग न्यूनीकरणका लागि भन्दै विषादीको प्रयोग गर्दै आएका छन्।

निकै खर्चिलो र मानव स्वास्थ्यका लागि समेत प्रतिकुल मानिएका विषादीको सट्टा बाली संरक्षणका लागि घरेलु प्रविधिको प्रयोग गर्न सकिन्छ। किसानहरुले प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दै आएको गाईवस्तुको मलमुत्रले प्राङ्गारिक विषादीको काम समेत गर्ने गरेको पाईएको हो । कृषि विज्ञहरुका अनुसार यसको प्रयोगले धान, गँहु र विभिन्न तरकारी बालीमा लाग्ने किरोजन्य प्रकोप तथा रोग न्यूनिकरण गर्न सकिन्छ ।

बागवानी विशेषज्ञ गोविन्द राज जोशीले गाईवस्तुको मलमुत्रको प्रयोगले बालीमा लाग्ने किराको जोखिम न्यूनीकरण गर्न सकिने बताए । मलमुत्रबाट जैविक विषादी पनि घरमै तपाई हामी आफैले बनाउन सक्छौँ । जस्तै धान तथा गँहुमा लाग्ने डढुवा रोग नियन्त्रणका लागि ५ सय ग्राम बोझो, ५ सय ग्राम केतुकी, ५ सय ग्राम खुर्सानी, ५ सय ग्राम सुर्ती र ५ सय ग्राम टिम्वुरको पातलाई टुक्रा÷टुक्रा गरी ड्रममा राख्ने र त्यसमा ५ लिटर गाँई वा भैसीको पिसाब मिसाउनुपर्छ ।

यसरी यी सबै समाग्रीको मिश्रण गरी राखेपछि २२ दिनमा विषादी तयार हुन्छ । विषादी तयार भएपछि ड्रमबाट निकालीएको  १ भाग झोलमा ८ भाग पानि थपी प्रयोग गर्न सकिन्छ । यसको प्रयोगबाट धान र गँहुमा लाग्ने डढुवा रोग नियन्त्रण गर्नुका साथै साना तथा नरम छाला भएका कीराहरु मार्न सकिन्छ भने माटोमा बस्ने हानिकारक कीरा, रातो कमिला र झुसिलकीरा समेत भगाउन सकिन्छ । यस्तै,  बीस किलोग्राम राम्रोसँग पाकेको कम्पोष्ट मललाई कपडा वा जुटको थैला भित्र राखि मुख बाध्ने ।

एक पाथी गाईको पिसाव र चार पाथी पानी मीसाई एउटा ड्रममा राख्ने । उक्त थैलोलाई ड्रम भित्र तलमाथी चलाउने गरेमा ७ दिनमा तयार हुन्छ । यसरी तयार भएको १ भाग कम्पोष्टमा १ भाग पानी मिसाएर ७÷७ दिनको फरकमा प्रयोग गर्दा आलु तथा गोलभेण्डामा लाग्ने डढुवा रोगमा कमी ल्याउन सकिन्छ । गाईको १ किलोग्राम सुकेको गोवरमा १५ ग्राम सूर्ती मिसाउने र त्यसलाई भाँडोमा राखी धुवाउने र उक्त भाँडोलाई तरकारीको वोटमुनि राखेपछि धेरैजसो हानिकारण किराहरु भाग्ने र मर्ने गरेको विज्ञहरु बताउछन् । 
 

कमेन्ट लोड गर्नुस