खप्तड यात्रामा पत्रकार र साहित्यकारको टोली, धनगढीमा स्वागत
धर्तीको स्वर्ग मानिने खप्तड यात्राका लागि आएको साहित्यकार, पत्रकार लगायत पर्यटनकर्मीहरुलाई धनगढीमा स्वागत सहित खप्तडका लागि विदाई गरिएको छ। सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले खप्तड यात्राका लागि निस्केको टोलीलाई धनगढीमा स्वागत गर्दै नेपालको झण्डा हस्तान्तरण गरेर खप्तडका लागि विदाई गर्नुभएको हो। यात्रामा सहभागी राष्ट्रिय गानका रचयिता व्याकुक माईला सहित साहित्यकार र पत्रकारहरुले खप्तड पुगेर त्यहाँको प्राकृतिक सुन्दरताको आफ्ना रचनाहरु मार्फत बर्णन गरी खप्तड क्षेत्रको पर्यटन प्रबद्धर्नमा टेवा पुगाउने प्रतिबद्धता जनाएका छन।
धर्तीको स्वर्ग भनेर प्रचार प्रसार भएपनि पर्यटकिय गतिबिधि बढाउन नसक्दा ओझेलमा पर्दै आएको खप्तडलाई प्रवद्र्धन गर्ने उदेश्यले साहित्यकार, पत्रकार सहित पर्यटनकर्मीहरु गरि २६ जनाको टोली खप्तडका लागि हिँडेको हो । सोमवार धनगढी पुगेको उक्त टोलीलाई सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले स्वागत सहित नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी खप्तडका लागि विदाई गरे।
अपार प्राकृतिक सुन्दरताले भरिपुर्ण रहेको भएपनि खप्तड जाने पर्यटकहरु बढाउन सकिएको छैन्। तर प्रचार प्रसारले तिब्रता पाएसंगै समुह बनाएर खप्तड जानेहरु बिस्तारै बिस्तारै बढीरहेका छन्। अब खप्तडमै पुगेर खप्तडको महिमा रचना मार्फत पाठक सामु पुगाएर पर्यटन प्रबद्र्धनमा बल पुगाउने सोचका साथ आफुहरु खप्तड यात्रामा निस्कीएको राष्ट्रिय गानका रचयिता ब्याकुल माईलाले बताए।
पर्यटकीय क्षेत्र खप्तडको प्रचार प्रसारका लागि बेला बेला बिभिन्न अभियानहरु पनि संचालनमा रहेका छन तर यस्ता अभियानहरु पर्याप्त मात्रामा हुन नसकिरहेका बेला साहित्यकारका श्रृजना र पत्रकारका लेख रचनाहरु मार्फत खप्तडको पर्यटनमा टेवा पुगाउने प्रयास गरिएको पर्यटनकर्मी अम्रित भादगाउलेले बताए।
केही दिन अघि खप्तडमा अन्तराष्ट्रिय सांस्कृतिक पदयात्रा पनि भएको थियो। योसंगै अहिले पत्रकार र सात्यिकारको टोली पनि खप्तड प्रस्थान गरेको हो। खप्तडको सुन्दरतामा हराएर साहित्य साधना गर्ने टोलीमा सहभागी चितवनका साहित्यकार सुविनले बताए।
खप्तड यात्राका लागि निस्केको २६ जनाको टोलीमा साहित्यकार पत्रकार सहित साईकल यात्रीहरु पनि सहभागी छन्।