कोरीयामा १० जनाले कमाउने धन सुन्तला खेतीबाट निगालीमै कमाउछु (भिडियो रिर्पोट)
पौरखी हातहरु : श्रृंखला ०३
निगालीको सुन्तलाले देशव्यापी रुपमा बजार पाउने गरेको छ । ठुलो दाना र स्वादिलो हुने भएकाले त्यसको आफ्नै विशेषता रहेको छ । त्यसैले पनि होला पछिल्लो समय निगालीको सुन्तलाको नाम दिएर अन्य क्षेत्रका सुन्तला व्यवासायीले पनि व्यवसाय गरिरहेका छन् । तर निगालीको सुन्तलाको छुट्टै पहिचान बनाउनका लागि किसान धर्मराज कँडेलले खेलेको भुमिका भने निकै महत्वपुर्ण छ ।
झण्डै २ दशक अगाडी अत्तरीया र आसपासका क्षेत्रमा दुध र फलफुल विक्री गर्दै दिनचर्या चलाउदै आएका कँडेललाई निगालीमा सुन्तला खेतीको ठुलै सम्भावना रहेको थाह भयो । पुर्खेउली घर निगालीमा भएपनि कँडेलले त्यहाको जग्गा धेरै पहिले विक्री गरिसकेका थिए । सुन्तला खेतीको राम्रो सम्भावनाको खवर सुनेपछि फेरी जग्गा किनेर कँडेल कैलालीको चौमलाबाट परिवार सहित निगाली सरे र अनि सुन्तला खेतीको सुरुवात गरे ।
कँडेल ७ बर्ष अगाडी नेपालको पुर्वी क्षेत्रबाट सुन्तलाका बोटहरु ल्याएर सुन्तला खेतीमा लाग्दा नेपालीहरु रोजगारीको अवसर नपाएको भन्दे विदेशीने क्रम निकै बढि थियो । केहि पढेलेखेका युवाहरुको गन्तव्य कोरीया बनिरहेको थियो । तर त्यतीबेला कँडेलले भने सुन्तलाको बोट रापेर कोरीयामा हुने भन्दा दोब्बर आम्दानी आफ्नै माटोमा गर्ने प्रण गरेका थिए । ७ बर्षमा कँडेलले झण्डै एक हजार बोटहरु लगाएर ५० रोपनीमा सुन्तला वारी विस्तार गरिसकेका छन् ।
तराईमा घर छ, छोराछोरीलाई राम्रो पालनपोषणसंगै शिक्षा दिएका छन् । तर त्यति वेला कोरीयाको सपना बुन्दै विदेशीएका युवाहरु अहिले पनि विदेशमा पसिना बगाईरहेका छन् । गत बर्ष १३ लाखको सुन्तला मात्रै विक्री गरेका कँडेलको अदुवा र अन्य नगदे वालीबाट थप आम्दानी भईरहेको छ । कँडेल मेहनेत गरे आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् ।
प्रदेश नम्वर ७ मा सवैभन्दा ठुलो सुन्तला किसान समेत रहेका कँडेलले राष्ट्रपती उत्कृष्ट किसानको पुरष्कार पनि पाईसकेका छन् । सुन्तला टिप्ने र गोडमेलका लागि कामदार लगाउने कडेलले आफ्नो सिङगो परिवारलाई सुन्तला खेतीको पिरती लगाईसकेका छन् । कँडलेले आफु मात्रै होईन आफ्नै परिवारसंगै नजिका २ जना दाईभाईलाई पनि सुन्तला खेतीमै सक्रिय बनाएका छन् ।
सुन्तलाको वारी बढाउदै लैजाने लक्ष्य लिएका कँडेललाई सिचाईको सुविधा नहुँदा भने ठुलो समस्या भएको छ । सिचाईको सुविधा र यातायातको व्यवस्था भए मात्रै कोरीयामा १० जनाले कमाउने धन एक्लै सुन्तला खेती गरेर कमाउने दावी कँडेलको छ ।