अनुदान दिईएपनि चैते धान खेतीतर्फ किसानको आकर्षण घट्दो (भिडियो रिर्पोट)
कैलाली र कञ्चनपुर जिल्लालाई प्रदेश ७ को अन्न भण्डारका रुपमा लिईन्छ । दुवै जिल्लामा उत्पादन हुने अन्नले पहाडी सात जिल्लाको खाद्य बजारलाई पनि धानेको हुन्छ । तर पछिल्लो समय दुवै जिल्लामा चैते धान खेतीतर्फ किसानको आकर्षण भने घट्दै गएको छ । आजभन्दा ४ वर्ष पहिले कैलालीको ७ सय ५० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिदै आएको थियो । तर चार बर्षमै अवस्था फेरिएको छ र अहिले चैते धान भईरहेको ३ सय हेक्टर क्षेत्रफल खाली भएको छ । यो बर्ष ४ सय ६७ हेक्टर क्षेत्रफलमा मात्रै चेते धानको खेती गरिएको जिल्ला कृषि विकास कार्यालय कैलालीका प्राविधिक सहायक शंकर अवस्थीले जानकारी दिए । कञ्चनपुरमा पनि विगतका वर्षमा ३ सय २५ भन्दा बढी हेक्टर क्षेत्रफलमा चैते धान खेति हुदै आएकोमा यसवर्ष ९५ हेक्टरमा झरेको छ ।
विगतदेखि नै चैते धान खेती गर्दै आएका किसानहरु सिचाई असुविधाका कारण विस्थापित चैते धान खेती गर्न छोडिरहेका हुन् । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका कृषि विकास अधिकृत सागर ढकालले चैते धान खेतीतर्फ किसानको आकर्षण घट्नुको प्रमुख कारण सिचाई असुविधा नै भएको बताए । बर्खे धानबाली हरेक बर्ष भित्राउन नपाउँदै बाढीले सखाप पार्न थालेपछि समस्यामा परेका बाढी प्रभावित क्षेत्रका किसानहरु अहिले चैते धान खेती गरिरहेका छन् ।
तर दुवै जिल्लामा बृहत्तर चैते धान उत्पादन कार्यक्रम लागू भएपनि चैते धान खेती तर्फ भने किसानहरुको आकर्षण वढ्न नसकेको हो । वढी पानी जम्ने खल्ला, नहर क्षेत्र, तथा डुवान हुने क्षेत्रमा चैते धान उत्पादन पनि बढी हुने र बर्खे बाली जोगाउन समस्या हुने भएकाले चैते धान खेती गरिन्छ । किसानको आकर्षण घट्दै जानुमा सिंचाई असुविधा मात्र नभई अन्य कारण पनि देखिएका छन् । जिल्ला कृषि विकास कार्यालय कैलालीका प्राविधिक सहायक शंकर अवस्थीले चैते धान खेतीकै समयमा बर्खे तरकारी खेती र मुङ खेतीतर्फ समेत आर्कषित हुन थालेपछि चैते धान खेतीको क्षेत्रफल घटेको हुनसक्ने जनाए । १ सय २० दिनको छोटो अवधिमै पाक्ने र बर्खे धानको तुलनामा राम्रो उत्पादन हुने चैते धान खेतीमा सरकारले राहत तथा अनुदानका कार्यक्रम थप्दै गईरहेका छ । चैते धानप्रति किसानहरुको आकर्षण नबढ्नु चिन्ताजनक विषय हो । चैते धानखेती गर्ने कृषकलाई अनुदान दिदै आएको सरकारले बाली विमा गर्न पनि पटक–पटक आग्रह गर्दै आएको छ ।