सुदूर नेपाललाई विश्वसँग जोड्दै

वास्तविक गरिबले पाएनन् परिचयपत्र (भिडियो सहित)

गरिब परिचयपत्र वितरणले निम्ताएको विवाद

२०७५ भदौ ५, १०:४५

धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का शिवशक्ति टोलका अमर बहादूर तामाङलाई स्थानीय शिव मन्दिरको संरक्षण र मन्दिरकै जग्गामा झुपडी बनाएर बस्दै आएको वषौँ बित्यो । २०७० सालमा गरिब घरपरिवार पहिचानका लागि टोल टोलमा पुगेको टोलीलले तथ्याङ्क संकलन गरेर लैजादा तामाङलाई आफ्नो पनि पहिचान हुने र केही राहात पाउने आशा थियो तर टोलका अधिकांशले गरिब परिचयपत्र पाए तामाङले भने पाउन सकेनन् ।

गाँउका आर्थिक रुपले सम्पन्न भएका व्यक्ति समेत गरिबको सूचीमा पर्दा तामाङको भने झुपडीकै बास छ  उनीसँग विवरण भरेको अर्धकट्टी बाहेक गरिब भएको पुष्टि गर्ने केही कागजपत्र छैनन् । तामाङ जस्तै वडा नम्बर १२ मा गरिब विवरण फारम भरेका आधा भन्दा बढि परिवारले गरिब परिचपत्र पाएका छैनन् । परिचयपत्र पाएकाहरुले धमाधम बुझिरहेका बेला नपाएकाहरु भने दैनिकजसो वडा कार्यालय धाएर जनप्रतिनिधिलाई गुनासो गर्दै फर्किने गरेका छन् । उनीहरु एकजुट भएर परिचय पत्र पाउनुपर्ने माग राख्दै आन्दालनमा उत्रिएका छन् । सरकारले वितरण गरिरहेको गरिब परिचय पत्र नपाएपछि धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का स्थानीय आन्दोलित भएका छन् । गरिब घरपरिवार पहिचानका लागि सरकारले २०७० सालमा तथ्याङ्क संकलन गर्दा विवरण टिपाएपनि परिचय पत्र नपाएपछि आन्दोलित भएका स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् । सोमबार र मंगलबार उनीहरुले वडा कार्यालयमा नाराबाजी गर्दै घेराउ गरेका हुन्।

वडाका आधा भन्दा बढि परिवारले परिचय पत्र नपाउदा समेत त्यसका लागि  जनप्रतिनिधिले पहल नगरिदिएको भन्दै स्थानीय निराश भएका छन् ।    स्थानीय मनमाया गहतराजले पक्की घर र विगाह जमिन भएकाहरुलाई गरिबपरिचय पत्र वितरण गरिदा वास्तविक गरिबले नपाएको बताईन् । ७५ वर्षीय दत्तुराम सार्कीले गरिब परिचय वितरणमा राज्यले विभेद् गरेको आरोप लगाए । उनले भने, ‘मेरो एक कठ्ठा जमिन छैन् तर सरकारले आफूलाई गरिबको सूचीमा नपारेको बताए । सरकारले निम्न वर्गलाई लक्षित गरेर ल्याएको गरिब परिचयपत्र सम्पन्न परिवारलाई वितरण गरेपछि धेरैले विरोध जनाएका छन । उनीहरुले दैनिक वडा कार्यालयमा धर्ना समेत दिने गरेका छन् ।  

वास्तविक गरिबमाथी विभेद गर्दै आर्थिक रुपमा सम्पन्न व्यक्तिलाई गरिबको सूचीमा राखेको स्थानीयको आरोप छ ।  तर वडा कार्यालय भने एक हजार ८ सय ५५ परिवाले गरिब परिचय पत्रका लागि विवरण फारम भरेकोमा ४ सय ९५ जनाको परिचय पत्र मात्र प्राप्त भएको वडाअध्यक्ष गणेशदत्त जोशीले बताए । धनगढी उप–महानगरपालिकाका अन्य वडामा समेत गरिब परिचयपत्र वितरण प्रभावकारी नभएको भन्दै विरोध भइरहेको छ भने वास्तविक गरिबले परिचय पत्र नपाउदा धनी व्यक्ति गरिबको सूचीमा परेका छन् । धनगढी उप–महानगरपालिकाले अति गरिबलाई रातो रङ, मध्यम गरिबलाई पहेँलो रङ र समान्य  गरिबलाई नीलो रङको परिचयपत्र वितरण गरिरहेको छ । वडामा आर्थिक रुपमा सम्पन्न व्यक्तिलाई गरिबको सूचीमा राखेर वास्तविक गरिबमाथि विभेद गरिएको आरोप स्थानीयको छ ।

 

 

 

 

कमेन्ट लोड गर्नुस