सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन देशका तीन कम्पनीले ३६ बर्षसम्म अल्झाए पश्चिम सेती

‘अनिर्णयको बन्दी’ प्रभावित क्षेत्र

२०७५ भदौ १५, ०७:०४

७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना फेरि पनि अन्योलमा परेको छ । राजनीतिक खिचातानीले तीन देशका तीन कम्पनीले ३६ बर्षसम्म अल्झाएको पश्चिम सेती जलविद्युत आयोजना फेरि अन्योलमा परेको हो । आयोजना बनाउनको लागि सम्झौता गरेको चीनको चाइना थ्री गर्जेजले आर्थिक व्यवस्थापन गर्न गाह्रो भएको भन्दै पश्चिम सेती निर्माणको काम नथाल्ने भनेपछि आयोजना फेरि पनि अन्योलमा परेको हो । 
थ्री गर्जेजले आयोजना बनाउन अस्वीकार गरेसंगै वषौँदेखि आयोजना निर्माण हुने आशामा रहेका प्रभावित क्षेत्रका बासिन्दा पनि निराश भएका छन् । विद्युत विकास बोर्डका सस्थापक निर्देशक तथा पुर्व उर्जा सचिव गोवीन्द भट्टका अनुसार विसं २०३९ देखि पश्चिम सेती परियोजन निर्माण हुने हल्ला चलेको थियो ।

त्यसपछि डोटी, डडेल्धुरा, बैतडी र बझाङ हुँदै बग्ने पश्चिम सेती नदीमा विद्युत आयोजना निर्माण गर्ने प्रस्ताव सहित विभिन्न कम्पनीले हात हाले । सो बेला तत्कालीन राजा, रानीको फ्रान्स भ्रमणमा रहेका बेला फ्रान्सका कम्पनीहरुलाई नेपालमा पनि जलविद्युत आयोजना निर्माण गर्न आग्रह गरेका थिए । झन्डै ३६ वर्षअघि फ्रान्सेली कम्पनी सोग्रेहले अध्ययन गरी विद्युत उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो । 
सो बेला झण्डै १ सय ३५ मेगावाटको विद्युत गर्ने योजना बनाईएको थियो । ७ सय ५० मेगावाट विद्युत उत्पादन गर्ने परियोजना २०५० सालतिर बनेको थियो । २०५१ सालमा स्मेकलाई विद्युत उत्पादनको सर्वे गर्ने जिम्मा दिइयो भने २०५४ सालमा सरकारले स्मेकलाई आयोजनाको निर्माणको अनुमति नै दियो ।

तर स्मेकले अनेक बहानामा आयोजनाको काम अघि बढाएन र सम्झौता गरेको १६ वर्षपछि २०६६ सालमा सरकारले स्मेकसँगको सम्झौता तोड्यो । २०६६ सालमा अष्ट्रेलियन कम्पनी स्मेकसँग पश्चिम सेती आयोजनाको लागि सम्झौता तोडेको सरकारले २०६८ सालमा चीनको थ्री गर्जेसँग विद्युत आयोजना निर्माणको लागि समझदारी पत्रमा हस्ताक्षर ग¥यो । अव थ्री गर्जेजले पनि आयोजना बनाउन अस्वीकार गरेसंगै पश्चिम सेती अन्योलमा परेको हो । लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले अव पश्चिम सेती परियोजना के गर्ने भन्ने विषयमा बोर्डको बैठक बस्ने बताए । 
‘अनिर्णयको बन्दी’ प्रभावित क्षेत्र
बच्चा हुँदादेखि सुनेकोे परियोजना बुढो हुन लाग्दा समेत केही प्रक्रिया अगाडी नबढ््दा प्रभावित क्षेत्रसंगै प्रदेश नम्वर ७ का बासिन्दालाई चिन्तित तुल्याएको छ । बैतडी, डोटी, बझाङ र डडेल्धुराका दुई हजार भन्दा धेरै परिवारलाई विस्थापित गरेर पश्चिम सेती बनाउने तयारी भएपछि सो क्षेत्रमा विकासका योजना नगएको पनि बर्षाै भईसकेको हो ।  पश्चिम सेती परियोजना प्रभाव क्षेत्रमा लगानी गरेपछि डुवान हुनेभन्दै सरकारको लगानी रोकिएको छ । विकास निर्माणका कार्यहरु सडक, खानेपानी, सिचाई, शिक्षा जस्ता आधाभुत कुराहरुबाट परियोजना बन्ने हल्लाले बञ्चित हुनपरेको स्थानीयको चन्द्र ओझाले बताए । 
परियोजना बन्ने आशै आसमा ढुङ्गाड, तलारा, ,आदर्शनगर, थलरा लगायतका दर्जनौ गाउँहरु अहिले सम्म पनि अन्धकारमा बसेका छन भने अन्य विकासवाट समेत वञ्चित छन् । उनीहरुले विस्थापीत हुनुपर्ने भन्दै एउटा बोट समेत रोपेका छैनन् । पटक–पटक पश्चिम सेती परियोजनाका लागि विभिन्न देशका निर्माण कम्पनी सगं सम्झौता गरेपनि परियोजना लागु हुने स्थानमा कम्पनी नपुग्दै सेलाउने गरेको छ । ३६ वर्षअघि फ्रान्सेली कम्पनी सोग्रेह हुँदै अस्ट्रेलियाको स्मेक र अहिले चिनीयाँ कम्पनी थ्रि गर्जेजले निर्माण गर्न अस्विकार गरेपछि विस्तारै परियोजना बन्ने आशा पनि मर्दै गएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए । 
थ्री गर्जेजलाई राजनीतिक खिचातानीको डर
आयोजना क्षेत्रको मुआब्जा, पुनर्वास र पुनस्र्थापना साह्रै नै महँगो भएकाले थ्री गर्जेजले पश्चिम सेती जलविद्युत बनाउन अस्वीकार गरेको चर्चा छ । विगतमा आयोजनाको लागत १ खर्व २० अर्व अनुमान गरिएकोमा अहिले १ खर्ब ८० अर्ब पुग्ने अनुमान गरिएको छ । लागतको १० प्रतिशत रकम पुनर्वासमा खर्च हुने दावी गरिएको छ ।

तर अयोजना क्षेत्रको मुआब्जा, पुनर्वास र पुनस्र्थापना साह्रै नै महँगो भन्दा पनि नेपालको राजनीतिक अवस्था देखेर थ्री गर्जेज बाहिरिन खोजेको विज्ञहरुको दावी छ । त्यसैमा पश्चिम सेतीकै नाम बेचेर चुनाव जितेका नेताहरु पनि परियोजनाको निर्माणका लागि उदासीन देखिएपछि पश्चिम सेती अन्योलताको भुमरीमा फसेको विद्युत विकास बोर्डका सस्थापक निर्देशक गोवीन्द भट्टको छ । 
पश्चिम सेती जलविद्युत आयोजनालाई ३६ बर्ष सम्म जसरी तीन वटा विदेशी कम्पनीले अल्झाएर राखे त्यसै गरे राजनीतिक दलहरुले चुनावका बेला पश्चिम सेतीको नामा बेचे । चुनाव जितेर गएपछि भने यस क्षेत्रबाट राष्ट्रिय राजनीतिमा दख्खल राख्ने एक जना नेताले पनि पश्चिम सेती बनाउन पहल गरेका छैनन् । अझै सम्म पश्चिम सेतीलाई कति बर्ष सम्म अन्यौलको भुमरीमा राखिने हो निश्चित छैन् । 

अडियो रिर्पोट :

कमेन्ट लोड गर्नुस