ट्रम्पविरुद्ध अमेरिकामा संयुक्त सम्पादकीय
अमेरिकाका ३५० भन्दा वढी संचार माध्यमले विहीवार राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रेसप्रति गर्दै आएको प्रहारको विरोध गर्दै सम्पादकीय लेखेका छन् ।
टेक्ससको सानो शहरदेखि न्यूयोर्कबाट प्रकाशित हुने द न्यूयोर्क टाइम्ससम्मका सम्पादकीयमा राष्ट्रपति ट्रम्पले पटक पटक प्रेसप्रति दिँदै आएको अभिव्यक्तिको विरोधमा सम्पादकीय लेखिएको छ ।
राष्ट्रपति ट्रम्पले पटक पटक अमेरिकी प्रेसलाई जनताको दुस्मन र झुटको खेती गर्दै आएको आरोप लगाएका थिए । ट्रम्पको यस्तो अभिव्यक्तिको विरोधमा यो महिनाको शूरुमा बोस्टन ग्लोबले प्रतिवाद गर्दै सम्पादकीय लेख्ने प्रस्ताव गरेको थियो ।
यसमा बिहीवार अमेरिकाका करिव ३ सय ५० संचारमाध्यम सहभागि भएका हुन् ।
यसको उद्देश्य राष्ट्रपति ट्रम्पको विरुद्ध मात्र होइन बोस्टन ग्लोबले आफ्ना सम्पादकीयमा लेखेको छ यो वास्तवमा प्रेसको पक्षमा हो ।
न्यू मेक्सिको राज्यका सानो शहरमा प्रकाशित हुने भेलेन्सिया काउण्टी न्यूज बुलेटिनमा भनिएको छ, हामी जनताका दुस्मन होइनौं हामी जनताको पक्षमा सधै छौं । मिनिसोयटाको एउटा पत्रिकाले पत्रकारमाथि आक्रमण हुँदा यसले हिंसालाई बढावा दिने उल्लेख गरेको छ ।
कतिपय ठुला दैनिक पत्रिका र अनलाइनमा सम्पादकीय पृष्ठ पृथक हुने गर्छन् । दैनिक वा छिनछिनमा समाचार दिने न्यूजरुमसँग यसले कुनै सम्वन्ध राख्दैन । तर, ट्रम्पले फरक अभिव्यक्ति राख्ने सबै संचारकर्मी आफ्नो विरोधी भएको आरोप लगाउँदै आएका छन् ।
न्यूयोर्क टाइम्सले संचारमाध्यमलाई आलोचना गर्ने अधिकार छ तर, आफुलाई चित्त नवुझेको समाचारलाई फेक न्यूज ( गलत) भन्नु खतरा भएको उल्लेख गरेको छ । द शिकागो सन टाइम्सले अधिकांश अमेरिकी जनताले ट्रम्पले वकवासपूर्ण अभिव्यक्ति दिईरहेका छन् भन्ने बुझेका छन् भन्ने लेखेको छ ।
तर, बाल्टिमोर सन र वालस्ट्रिज जनरलले भने यो संयुक्त अभियानप्रति प्रश्न उठाएका छन् । बाल्टिमोर सनले राष्ट्रपतिविरुद्ध यस्तो अभियान चलाउनु गलत भएको टिप्पणी गरेको छ ।
अमेरिकामा केहीलाई छाडेर अधिकांश ठूला प्रेसले इमिग्रेशन, समलिँगी अधिकार लगायत उदार समाजको पक्षमा वकालत गर्छन् । न्यू योर्क टाइम्स, सीएनएन, बोस्टन ग्लोब यसका उदाहरण हुन् । तर, ट्रम्पको नीति कयौं क्षेत्रमा अनुदार छ । राष्ट्रपतिले पटक पटक विदेश, व्यापार, इमिग्रेशन नीति लगायतमा आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।
ट्रम्पले राष्ट्रपतिमा उम्मेदवार बन्दा नै प्रेसप्रति हमला गर्दै आएका छन् । देशभित्र मात्र होइन विदेशमा पनि उनले अमेरिकी प्रेस विशेषगरी सीएनएनको आलोचना गरेका थिए ।