सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा २४ घर जलेर खरानी, १९ जंगलमा डढेलो

२०८१ वैशाख २६, १२:१२ खबर संवाददाता

धनगढीः बैतडीमा जंगलमा लागेको डढेलोमा परि हालै मात्र दुई महिला घाइते भए।

जिल्लाको दशरथचन्द नगरपालिका–१ देउमडाकी ५४ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल डढेलोमा परेर घाईते हुन पुगेका हुन्। घाइते दुवैलाई  स्थानीयले उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने काम गरेका थिए। घरनजिकैको जंगलमा घाँस काट्ने क्रममा हुरीसँगै आएको डढेलोमा परेर दुवै महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

हाल दुबैको अवस्था सामान्य छ। बैतडीमा मात्र नभएर आगलागीका घटना यसैरी सबैतिर फैलिन पुगेको छ। सुदूरपश्चिममा अहिलेसम्म आगलागीबाट २४ वटा घर पूर्ण रुपमा जलेर खरानीमा परिणत भएका छन्। बैशाख सुरु भएयता प्रदेशभित्र आगलागीका घटना भयावह रुपमा बढ्न सुरु भएको हो।

सुदूरपश्चिममा मात्र हिजो (मंगलबार) सम्म दुई सय २० आगलागीका घटना घटेका छन्। ती आगलागीका घटनामा परेर ६ महिलासहित १० जनाको मृत्यु भइसकेको छ। आगलागीका घटना प्रदेशका नौवटै जिल्लामा एकपछि अर्को बढ्दै गएको छ। चैत अन्तिमसातादेखि आगलागी हुन सुरु भएको थियो। त्यसयता १७ महिला र १२ पुरुष गरि २९ जना आगलागीमा परेर घाइते भएका छन्।

दुई सय ४६ परिवार प्रभावित बन्न पुगेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ। आगलागीबाट ३३ वटा घरमा आंशिक क्षति पुगेको छ भने २४ वटा घर जलेर खरानीमा परिणत भएका छन्। साथै ६६ वटा गोठमा आगलागी हुँदा ९१ वटा पशुचौपायामा क्षति पुगेको छ। आगलागीबाट अहिलेसम्म पाँच करोड ७८ लाख १९ हजार ७ सय मुल्यको धनमाल जलेर नष्ट भएको अनुमान समेत गरिएको छ।
१९ जंगलमा आगलागी
सुदूरपश्चिममा नौवटै जिल्लामा गरि अहिलेसम्म १९ वटा जंगलमा डढेलो लागेको छ। जंगलमा डढेलो लाग्दा जीवजन्तुको अस्थित्व नै संकटमा परेको छ। सामुदायिक, राष्ट्रिय र संरक्षित वन क्षेत्रमा समेत डढेलो लागेको हो। वनमा लागेको डढेलो वस्तीसम्म फैलिँदा धेरैका घर तथा गोठ समेत जलेर धनमाल नष्ट हुन पुगेको छ।

जंगल आगलागीबाट मात्र अहिलेसम्म तीन जना घाइते भएका छन्। यसबाट १८ परिवार प्रभावित भएका छन्। ६ घर आंशिक र ४ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। ६ गोठमा आगो सल्केर यसबाट ६ पशुचौपायामा क्षति पुगेको छ। जंगल आगलागीबाट मात्र मंगलबारसम्म २३ लाख ६० हजार मुल्यको धनमाल जलेर नष्ट भएको छ।

कमेन्ट लोड गर्नुस