सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रदेश प्रमुखको निवासबाटै सडक क्षेत्राधिकार खाली गर्न आनाकानी

२०८१ वैशाख २५, ०६:४० नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अगाडि छ प्रदेश प्रमुखको निवास।

निवासको पश्चिम र उत्तरतर्फ सडक छ। धनगढी उपमहानगरपालिकाले सरकारी कार्यालय अगाडिको सडक क्षेत्राधिकार भित्रको जग्गा खाली गराउने अभियान चलाएको छ। जसअनुसार प्रदेश प्रमुख निवासमा पश्चिमतर्फ ४ मिटर र उत्तरतर्फ २ दशमलव २५ मिटर खाली गर्नुपर्ने हुन्छ।

उपमहानगरपालिकाले खाली गर्नुपर्ने क्षेत्रमा नापजाँच गरेर चिह्न समेत लगाएको छ। तर, बजेट अभावका कारण पर्खाल सार्न समस्या भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचीव शैलेशराज ढुङ्गानाले बताए। उनले कार्यालयसँग पुँजीगत बजेट नहुने भएकाले पर्खाल सार्न समस्या भएको बताए। ‘हामीसँग निर्माण गर्न पुँजीगत बजेट हुन्न, त्यसैले पर्खाल सार्न समय लागेको हो।

संघ र प्रदेशबाट बजेट आउनासाथ सडक क्षेत्र खाली हुन्छ’, ढुङ्गानाले भने। संघ तथा प्रदेश सरकारबाट बजेटको व्यवस्था भए तुरुन्तै पर्खाल सारेर सडक क्षेत्राधिकार खाली गर्न तयार रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचीव ढुङ्गानाको तर्क छ। संघ तथा प्रदेश सरकारबाट बजेट रकमान्तर गरेर आए चालु आर्थिक वर्षमै पर्खाल सार्ने योजना रहेको उनको भनाई छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर पर्खाल भत्काउन नसकिएको बताइएको छ।

बजेट प्राप्त हुनासाथ सडक क्षेत्राधिकार खाली गर्न तयार रहेको निमित्त सचीव ढुङ्गानाले बताए। धनगढी उपमहानगरपालिकाले सरकारी कार्यालयहरूको सेटब्याक खाली गराउन नापजाँचसँगै औपचारिक आग्रह गरेको छ। धनगढीमा केही कार्यालयहरूले सडक क्षेत्राधिकार खाली गरे पनि प्रदेश प्रमुखको निवास, आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालय, गुणस्तर तथा नापतौल लगायतका कार्यालयले सडक क्षेत्राधिकार खाली गरेका छैनन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस