सुदूर नेपाललाई विश्वसँग जोड्दै

चालकलाई कारबाही गर्ने सहमतिपछि अबरुद्ध भीमदत्त राजमार्ग खुल्यो

२०८१ वैशाख २५, ०३:१९ खबर संवाददाता

धनगढीः चालकलाई कारबाही र पीडितलाई क्षतिपुर्ती दिने सहमतिपछि अबरुद्ध भीमदत्त राजमार्ग खुलेको छ।

आज (मङ्गलवार) बिहान ८ बजेदेखि बन्द भीमदत्त राजमार्ग यस्तो सहमतिपछि खुलेको हो। फरार भएका बसका चालक र समितिका व्यक्तिहरू सम्पर्कमा आएर छलफल सुरु भएपछि बाटो खुलाउने काम भएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ। तर सहमतिअनुसार काम नभए फेरि बाटो अबरुद्ध गरे विरोध गर्ने पीडित पक्षको चेतावनी छ।

दोषीलाई कारबाही हुनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग अघि सारिएको थियो। ती माग पुरा गर्ने विषयमा सहमति भइसकेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ। सोमवार गोदावरी नगरपालिका–४ बुढीतोलामा सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२८७ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–०११ प ९४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेल्धुरा, आलिताल गाउँपालिका–१ थक्लाडी पुर्णबहादुर ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

घटनापछि बस चालक फरार थिए। ऐर पूर्व वडाअध्यक्ष समेत हुन्। ठक्कर दिने चालकलाई कारबाही र पीडितलाई क्षतिपुर्ती दिने विषयमा इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा छलफल भएको हो। छलफल सकारात्मक भएको प्रहरीले बताएको छ। घटना कैलालीमा घटेको हो भने मृत्यु हुने व्यक्ति डडेल्धुराका हुन्।

कमेन्ट लोड गर्नुस