सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खुल्यो सशस्त्र प्रहरीको ‘एपिएफ’ स्कुल, सुरुमै १०५ विद्यार्थी भर्ना

२०८१ वैशाख २५, ०१:१० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा एपिएफ स्कुल खुलेको छ।

प्रदेशमै पहिलोपटक सशस्त्र प्रहरी बल नेपालले विद्यालय सञ्चालनमा ल्याएको हो। सशस्त्र प्रहरी बलले जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारी–पिपलाडीमा ‘नेपाल एपिएफ स्कुल’ सञ्चालनमा ल्याएको हो। सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी कोषले चालू शैक्षिक सत्र २०८१ देखि आधारभूत तहको विद्यालय सञ्चालनमा ल्याएको छ।

सोमबार सो एपिएफ विद्यालयको उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले विद्यालयको उद्घाटन गरेका हुन्। सशस्त्र प्रहरीले कञ्चनपुरसहित देशभरका चार स्थानमा विद्यालय सञ्चालन गरेको बताउँदै एपिएफ स्कुलबाट भावी दिनमा देशलाई चाहिने जनशक्ति उत्पादन गरिने उनले बताए।

नेपाल एपिएफ स्कुल झलारीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम रावलले कक्षा चारमा ३३ र कक्षा पाँच मा ७२ गरी पहिलो वर्ष एक सय पाँच विद्यार्थी भर्ना भएको बताए। छात्र ९२ र छात्रा १३ जना रहेका छन्। संगठनको योजनाअनुरूप विद्यालयमा सशस्त्र प्रहरी बलका कर्मचारीका सन्तान एवं सर्वसाधारणका सन्तान अध्ययनरत छन्।

विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिकवान विद्यार्थी उत्पादन गर्ने लक्ष्य अघि सारेको एसपी रावलले बताए। वैशाख १८ गतेदेखि नियमित कक्षा सञ्चालन भएका छन्। विद्यालयमा हाल ६ जना शिक्षक–शिक्षिका कार्यरत छन्। आगामी वर्षदेखि कक्षा थप हुँदै जाने एपिएफ विद्यालयले जनाएको छ। हाल विद्यालय सशस्त्र प्रहरी बल ३५ नम्बर गणकै भवनमा सञ्चालन भएको छ। विद्यार्थीलाई बसोवासदेखि खानपिनको व्यवस्थासँगै जिल्लामै पहिलोपटक एपिएफले विद्यालय सञ्चालनमा ल्याएको हो।

कमेन्ट लोड गर्नुस