सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चौमाला–खैराला चल्ने पाँच गाडिका सञ्चालकलाई जरिबाना

२०८१ वैशाख २०, ०५:०६ कमल सावद

धनगढीः कैलालीको चौमाला–खैराला सडक खण्डमा सञ्चालन हुँदै आएका गाडिका सञ्चालकहरूलाई जरिबाना तिराइएको छ। क्षमताको पाँच गुण यात्रु बोक्दै आएका गाडिका सञ्चालकहरूलाई एक हजारका दरले जरिबाना गरिएको हो।

कैलालीको चौमाला ट्राफिकले बुधवार पाँच वटा गाडि नियन्त्रणमा लिएको थियो। गाडिका सञ्चालक तथा चालकहरूलाई बिहिवार एक हजारका दरले पाँच हजार रुपैयाँ जरिमाना गरिएको हो। ट्राफिक प्रहरीका अनुसार खेम पुनमगरले चलाएको ग १ ज ६३१३ नम्बरको जिप, लाल विकले चलाएको लु १ च ७०५० नम्बरको जिप, नारायण साउँदले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ३९२३ नम्बरको जिप तथा भे १ च १८१७ र भे १ च १५६१ नम्बरका जिपहरूलाई जरिबाना गरिएको हो। जिपका चालकहरूले चौमालाको झिल हुँदै खैरालासम्म क्षमताको पाँच गुणा बढी यात्रु बोक्दै आएका थिए।

चौमाला–खैराला सडकमा सवारी सञ्चालनको अनुमति छैन। तर, निजी जिपहरूले प्रति व्यक्तिबाट पाँच सय रुपैयाँ भाडा लिएर सेवा दिदै आएका छन्। उनीहरूले पाँच जना सिट क्षमताको जिपमा २५ जनासम्म राख्दै आएको छ। ट्राफिक प्रहरी, नेपाल प्रहरी, जिपका सञ्चालक तथा चालकहरू र चुरे गाउँपालिकाका जनप्रतिनिधिहरूको संयुक्त बैठकले स्थानीय तहले सडक स्तरीय बनाउने, सडकमा सवारी सञ्चालनको अनुमति माग गर्ने, सार्वजनिक सवारीले मात्र यात्रु बोक्ने, क्षमता अनुसार मात्र यात्रु बोक्ने लगाएतका सम्झौतासमेत गरिएको छ।

चौमालाबाट खैरालासम्म चल्ने जिपहरूका कारण दुर्घटनाको जोखिम बढेको पटक–पटक स्थानीय तथा जनप्रतिनिधिहरूले ट्राफिक प्रहरीलाई भन्दै आएका छन्। ट्राफिक प्रहरीको बेवास्ता र जिपका सञ्चालकहरूको लापर्बाहीका कारण ठुलो दुर्घटनाको जोखिम रहेको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस