सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेट खेलाडीका लागि धनगढीमा भिडियो सेसनसहितको प्रशिक्षण

२०८१ वैशाख १६, ०२:५१ खबर संवाददाता

धनगढीः धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले बिहीबारदेखि क्रिकेट खेलाडीका लागि सञ्चालन गरेको तिन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

तालिमको तेस्रो दिन शनिवार भिडियो सेसनसँगै क्याम्प समापन भएको हो। धनगढी क्रिकेट एकेडेमीले खेलाडीहरूको खेल सिप विकास गर्न आयोजना गरेको उक्त प्रशिक्षण क्याम्पमा नेपाल यु–१९ का प्रशिक्षक तथा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीलाई तिन दिन प्रशिक्षण गराएका थिए।

डीसीएमा क्रिकेट अभ्यासका लागि जोडिएका विभिन्न उमेर समूहका खेलाडीहरूले आफूहरूले राष्ट्रिय टोलीका अग्रज प्रशिक्षकबाट धेरै नै नयाँ टेक्निकहरू सिक्न पाएको र उक्त अवसरका लागि डीसीए परिवारलाई धन्यवाद समेत दिएका छन्। विगत ८ महिनादेखि धनगढी क्रिकेट एकेडेमीमा अभ्यास गरिरहेका नीरज भट्टले तीनदिनको अवधिमा सिकाइमा थप ऊर्जा मिलेको बताए।

त्यस्तै, सुदूरपश्चिमको क्रिकेटमा डीसीएले योगदान गर्ने अवसर प्रदान गरेको खुसी व्यक्त गर्दै प्रशिक्षक टमाटाले तिन दिने क्याम्पमा सहभागी नयाँ होनहार र लगनशील खेलाडीहरू रहेको र यही रफ्तारमा आफ्नो मेहनत अभ्यासलाई बढवा दिन सके उनीहरूको भविष्य उज्ज्वल देखेको बताए। 

कार्यक्रममा डीसीएका म्यानेजर समुयल न्यौपाने, ग्रास रुट क्रिकेट धनगढीका प्रशिक्षक ज्ञानेन्द्र क्षेत्री, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, तथा एसपीए कलेजका प्रबन्ध निर्देशक सुवासबहादुर शाही लगायत क्रिकेट अभ्यासका लागि जोडिएका विभिन्न उमेर समूहका खेलाडीहरू, खेलाडीहरूका अभिभावक तथा क्रिकेट प्रेमीहरूको उपस्थिति थियो।

कमेन्ट लोड गर्नुस