सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेल क्षेत्रको विकासका लागि स्थानीय तहमा खेलमैदान आवश्यकः सभापति देउवा

२०८१ वैशाख १५, ०९:४७ खबर संवाददाता

ललितपुरः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय तहमा सुविधासम्पन्न खेलमैदान आवश्यक भएको बताएका छन्। 

गोदावरी नगरपालिकाको आयोजनामा प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले नगरपालिकाभित्रै बहुउद्देश्यीय खेलमैदान निर्माण गरी यही मैदानमा प्रतियोगिता हुनु सुखद भएको बताए। उनले भने, 'स्वस्थ्य नागरिकबिना देश समुन्नतिको यात्रामा अघि बढ्न सम्भव हुँदैन, त्यसैगरी व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुन्छ।'

सभापति देउवाले पालिकास्तरमा खेलमैदान निर्माण गरी प्रतियोगिता आयोजना गरेकोमा नगरप्रमुख गजेन्द्र महर्जनलगायत सम्पूर्ण खेलाडीलाई बधाई दिए। गोदावरी नगरपालिकाका प्रमुख तथा कार्यक्रमका सभापति महर्जनले आगामी आर्थिक वर्षमा खेलमैदानका लागि बजेट विनियोजन गर्न आग्रह गरे। गोदावरी–१० टाखेलस्थित बहुउद्देश्यीय रङ्गशालामा आजदेखि सुरु प्रतियागिता वैशाख २९ गतेसम्म चल्नेछ। 

प्रतियोगिताका विजेता र उपविजेता टोलीले क्रमशः रु पाँच लाख,  रु तीन लाखसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै सार्वधिक गोलकर्तालाई रु २५ हजार, अनुशासित टोलीलाई रु ५० हजार, ‘प्लेयर अफ दी म्याच’लाई रु रु ५० हजारका साथै उत्कृष्ट खेलाडी, किपर, डिफेन्स, फरवार्ड र प्रशिक्षकलाई रु २५ नगद पुरस्कार प्रदान गरिने गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए। 

प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहका नौ, ललितपुरको चार स्थानीय तहका पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोलीको सहभागिता छ। प्रतियोगिताको पहिलो खेल गोदावरी ‘ए’ र महालक्ष्मी नगरपालिकाबीच भएको थियो। आजको खेलमा कुनै पनि समूहले गोल नगरेपछि पेनाल्टी सुटआउटमा महालक्ष्मी नगरपालिका ४–३ गोलअन्तरले विजयी भयो। 

उद्घाटनका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य संविधानसभा सभासद मदनबहादुर अमात्य, बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री इन्द्र बानियाँलगायतका नेता विभिन्न नगरपालिकाका प्रमुख, वडाध्यक्षलगायतको उपस्थिति थियो।

कमेन्ट लोड गर्नुस