सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीको फरारको सूचिमा रहेका लागुऔषध कारोबारी पलियाबाट पक्राउ

२०८१ वैशाख १३, १२:१२ कमल सावद

धनगढीः नेपाल प्रहरीको फरारको सूचिमा रहेका लागुऔषधका कारोबारी भारतको पलियाबाट पक्राउ परेका छन। भारतको पलियाबाट तीन सय ९० ग्राम लागुऔषधसहित पक्राउ परेका २ जना नेपाल प्रहरीको फरारको सूचिमा रहेका भारतीय लागुऔषधका कारोबारी रहेको खुलेको हो।

पलिया प्रहरीले सोमवार राति पक्राउ गरेको अंकित माल्या र बिक्की नेपाली नेपाल प्रहरीको फरारको सूचिमा रहेका लागुऔषधका कारोबारीहरू हुन्। उनीहरूलाई ३९० ग्राम लागुऔषध, नगद र आइफोनसहित भारतीय प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले धनगढीसहितका बजारहरुमा उनीहरुले लागुऔषधको आपूर्ति गर्दै आएका बताए। उनले भने, ‘लागुऔषध सिमा क्षेत्रको समस्या हो। मुहानमा समाधान खोजेका थियौ। काउन्टर पार्टको बैठकमा हामीले कुरा उठाएका थियौ। भारतबाट तस्करी हुने लागुऔषधमा कारबाही गर्न भनेका थियौ। साही अनुसार ३९० ग्राम खैरोहिरोइनसहित २ जना पक्राउ परेका छन्। उनीहरू हाम्रो पनि प्रतिवादीका रूपमा छन्।’ धनगढीसहित कैलाली र कञ्चनपुरका प्रयोगकर्ताका लागि उनीहरु कारोबारी रहेको दाबी कैलाली प्रहरीको छ।

भारतको पलिया प्रहरीका अधिकारी याजवेंद्र यादवले बिक्की नेपालीबाट एक सय ३० ग्राम लागुऔषध र अंकित मालियाबाट २६० ग्राम लागुऔषभ बरामद गरिएको बताए। उनीहरूको साथबाट १६ हजार भारतीय र १९ हजार नेपाली रुपैयाँ समेत बरामद गरिएको थियो। यादवले भारतको कानुन अनुसार दुबै जनालाई आवश्यक कारबाही हुने बताए।

सीमावर्ती वनगाउँ बजार ‘हट स्पट’

धनगढीसँग सीमाना जोडिएको भारतीय बजार वनगाउँ लागुऔषधको हट ‘हट स्पट’ रहेको छ। भारतीय प्रहरीले वनगाउँमा लागुऔषधको कारोबार गर्दै आएकाहरुलाई पक्राउ गर्न विषेश अभियान सञ्चालन गरेको छ। कैलाली प्रहरीका प्रमुख विष्टले वनगाउँमा भारतीय प्रहरीले अभियान सञ्चालन गरेको बताए।

भारतीय प्रहरीले १८ दशमलव पाँच ग्रामसहित तीन जना, तीन ग्रामसहित एक जना र ६ ग्रामसहित तीन जना गरेर सात जना लागुऔषधसहित पक्राउ परेका छन्। धनगढीसँग सिमाना जोडिएको भारतीय बजार वनगाउँबाट २७ ग्रामसहित ७ जना लागुऔषधका कारोबारी पक्राउ परेका छन्। भारतको वनगाउँ क्षेत्रमा भारतीय प्रहरीले लागुऔषधको कारोबार तथा सेवन गर्नेहरूलाई पक्राउ गर्न थालेपछि धनगढीमा आपूर्ति घटेको दाबी जिल्ला प्रहरी प्रमुख विष्टको छ।

 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस