सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका मोहित जोशी 'द पोइट आइडल' को शिर्ष आठौं स्थानमा

२०८१ वैशाख १३, ०९:३९ खबर संवाददाता

धनगढीः धनगढीका मोहित जोशी चर्चित टेलिभिजन रियालिटी सो द पोइट आइडल सिजन २ को टप ८ मा पुगेका छन्। बैतडीको पुर्चौडी नगरपालिका पुर्ख्यौली घर भई कैलालीको धनगढी-५ हसनपुरका जोशी देशभरिबाट थुप्रै प्रतिस्पर्धीहरूलाई उछिन्दै  टप ८ मा पुगेका हुन्।

कक्षा १२ सम्मको पढाई धनगढीको ऐश्वर्य विद्या निकेतनबाट पूरा गरेका जोशीले यसअघि रोल्पा गुराँस साहित्यले आयोजना गरेको कविता प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका छन्। विद्यालय तहबाटै कविता रचना गर्ने जोशी इन्जिनियरिङ अध्ययनको क्रममा कविता लेखनमा थप सक्रिय भएका हुन्। सानै उमेरबाट कविता लेखनका साथै पढाइसमेत अब्बल जोशीले पुलचोक इन्जिनियरिङ कलेजमा छात्रवृत्तिको १८ नम्बरमा नाम निकालेर अध्ययन पूरा गरेका छन्। 

इन्जिनियरिङसँगै कविता लेखनतर्फ राम्रो पकड बनाउँदै आएका जोशीले थुप्रै फुटकर कविता लेखिसकेको छन्। जसमा 'औँलाको सहर' र 'रामनुरा' उनका चर्चा कमाउन सफल कविता हुन्। 
जोशी कविका साथै राम्रा अनुवादक पनि हुन्। उनले हिन्दीलगायत अन्य भाषामा लेखिएका कविताहरु नेपालीमा अनुवादसमेत गरेका छन्। उनले मार्क स्ट्रान्ड, रमाशंकर यादव ‘विद्रोही’ लगायतका थुप्रै कविका कविता आकर्षक शैलीमा अनुवाद गरेका छन्। 
जोशीले 'द पोइट आइडल' को दोस्रो सिजनमा इजरायलमा बेपत्ता विपिन जोशीलाई सम्झँदै अत्यन्तै राम्रो कविता प्रस्तुत गरेका थिए। सुदूरपश्चिमको रहनसहन सम्झदै उनले विपिन र आफू सँगै खेल्ने गरेका खेलहरू कल्पना गरेर विपिनलाई घर फर्कन भन्दै कविता गाउँदै 'द पोइट आइडलमा सबैलाई भावुक बनाएका थिए।
टप ८ मा पुगे सँगै अस्ति मङ्गलवारदेखि भोटिङ गर्न सकिने कवि जोशीले सामाजिक सञ्जालमार्फत बताएका छन्। हिमालय टेलिभिजनबाट प्रत्येक सोमबार र मङ्गलवार राती ९ बजेबाट र ओएसआरको युट्युब च्यानलबाट प्रसारण भइरहेको कार्यक्रममा आफूलाई भोट गरी सहयोग गर्न उनले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । लेखनबाट आफ्नो ठाउँलाई अझ चिनाउन आफू लागि पर्ने उनले बताएका छन्।
जोशीलाई भोलि अर्थात् शुक्रवार दिउँसो १२ बजेसम्म भोट गर्न सकिने छ। टप ७ मा पुग्न अहिलेको राउन्ड जित्नु पर्ने बताएका जोशीले  आगामी राउन्डमा जजहरुले दिएको 'दाजु भाइ दिदी बहिनी' विषयमा कविता लेख्न निकै उत्साहित रहेको बताएका छन्। टप ७ मा पुग्न बढीभन्दा बढी भोटको आवश्यकता रहेको बताएका जोशीले सबैमा भोट गरेर दाजुभाइ-दिदी-बहिनी थिममा कविता लेख्ने धोको पूरा गर्न आग्रह गरेका छन्। 

कमेन्ट लोड गर्नुस