सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीले पठाएन नवजीवन अस्पतालमा स्वास्थ्यकर्मी

धनगढीः प्रसुती सेवाका लागि सेती प्रादेशिक अस्पतालका चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली अझै नवजीवन अस्पतालमा पठाइएको छैन्। बुधबार प्रदेश संकट व्यवस्थापन केन्द्रले सेती प्रादेशिक अस्पतालका चिकित्सक सहित स्वास्थ्यकर्मीको टोली नवजीवन अस्पतालमा पठाउने निर्णय गरेको थियो।

तर बिहिबार दिउँसो सम्म सेतीबाट कोही पनि नआएको नवजीवन अस्पतालले जनाएको छ। नवजीवन अस्पताल सञ्चालक योगेन्द्र ओझाले प्रसुती सेवा सञ्चालनका लागि सेतीबाट स्वास्थ्यकर्मी कोही पनि नआएको बताए। उनले भने, ‘अहिले प्रसुती सेवाका लागि आउनेहरुको संख्या धेरै छ। तीन सिफ्टमा कर्मचारी खटाएका छौँ। रातीको दुई बजेसम्म पनि सेवा दिईरहेका छौ। तर सेतीले चिकित्सक सहितको स्वास्थ्यकर्मी पठाउने भनेको थियो। अहिले सम्म आएका छैनन्।’ सेती प्रादेशिक अस्पतालले पनि सामाजिक विकास मन्त्रालयबाट जनशक्ति पठाउन कुनै पत्र नआएको बताएको छ। सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले नवजीवन अस्पतालको भौतिक अवस्थाका बारेमा पनि छलफल भएको बताए।

‘सेती प्रादेशिक अस्पतालले कर्मचारी पठाउने होईन्। सामाजिक विकास मन्त्रालयबाट निर्देशन हुने हो। कति कर्मचारी पठाउने मन्त्रालयले नै निर्णय गर्ने हो। तर अहिले सम्म कुनै पत्र आएको छैन्।’ अध्यक्ष जोशीले भने। प्रदेश संकट व्यवस्थापन केन्द्रको बुधबारको बैठकले सेतीमा प्रसुती सेवा सञ्चालनमा समस्या देखिएको भन्दै नवजीवनमा प्रसुती सेवा सञ्चालन गर्ने निर्णय भएको र त्यस्का लागि सेतीबाट स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो।

तर सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले निर्णयको बारेमा जानकारी नभएको प्रतिकृया दिए। उनले केन्द्रको पनि कुनै औपचारीक पत्र नआएको बताए। ‘कर्मचारीको व्यवस्थावन भन्दा पनि भौतिक संरचनाको बारेमा छलफल भएको हो। नवजीवनमा प्रसुती सेवाका लागि आवश्यक पर्ने भौतिक संरचनाको अवस्थाका बारेमा जानकारी लिएका छौ। तर नवजीवनले जनशक्ति माग गरेको छैन्।’ कार्कीले भने।

यसअघि सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गर्दै आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको नवजीवन अस्पतालमा सार्ने निर्णय गरेको थियो। यद्यपी सेतीमा अहिले पनि आकस्मिक प्रसुती सेवा सञ्चालन रहेको छ।

कमेन्ट लोड गर्नुस