सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–स्याउले खण्डको कल्भर्ट निर्माणको योजनमा २५ लाख कुम्ल्याउने प्रयास

धनगढी–दीपायल द्रुतमार्गको हसनपुर–स्याउले खण्डमा कल्भर्ट निर्माण गर्दा उपभोक्ता समितिले बदमासी गरेको आरोप  लागेको छ। प्रदेश सरकारले कल्भर्ट निर्माणका लागि गत आर्थिक वर्षमा ६५ लाख बजेट विनियोजन गरेकोमा उपभोक्ता समितिसंग ४९ लाख ९६ हजारमा सम्झौता भएको थियो। तर उपभोक्ता समितिले आँफै काम गर्नुपर्ने ठाउँमा कल्भर्ट निर्माणको जिम्मा निर्माण व्यवसायीलाई दिदै आधा रकम कुम्ल्याउने प्रयास गरेको भेटिएको छ।

उपभोक्ता समितिले २८ लाख बजेट मात्रै कल्भर्ट निर्माणका लागि विनियोजन भएको भन्दै २५ लाखमा निर्माण व्यवसायीलाई ठेक्का दिएर बाँकी रकम कुम्ल्याउने प्रयास गरेको स्थानीय गोपाल देउवाले बताए। ‘उपभोक्ता समितिको सम्झौता अनुसार ४९ लाख ९६ हजार भुक्तानी भए सिधै २४ लाख ९६ हजार उपभोक्ता समितिका पदाधिकारीको गोजीमा जाने देखिएको छ,’ उनले भने, ‘हतारमा उपभोक्ता समिति गठन भयो, समितिका पदाधिकारी र सदस्यहरुलाई पनि रकमको बारेमा जानकारी छैन्। सबैले २८ लाख मात्र कल्भर्ट निर्माणका लागि आएको बुझेका छन्।’

३७ लाख ९६ हजार  समानीकरण अनुदानको र नौ लाख ९९ हजार उपभोक्ता समितिको गरी प्रदेशको पूर्वाधार कार्यालय कैलालीले ४९ लाख ९६ हजारमा सम्झौता गरेको थियो। पूर्वाधार कार्यालयले ११ मिटर चौडाई र ६ मिटर लम्बाईको कल्भर्ट निर्माणका लागि आधा करोडको स्टीमेट बनाएका बेला उपभोक्ता समितिले भने, २५ लाखमा कल्भर्ट निर्माण गर्न ठेक्का दिएर आर्थिक हिनामिना गरेको आरोप लागेको छ। 

‘म संग उपभोक्ता समितिले २८ लाखको सम्झौता गरेको हो,’ निर्माण व्ययवसायी सोमनाथ चौधरीले भने, ‘कर कट्टि र उपभोक्ता समितिका लागि आवत–जावत गर्न तीन लाख छुट्याएर २५ लाख बाँकी रहन्छ, त्यो रकम मलाई दिने भनेका थिए। अन्य रकमको विषयमा मलाई जान्कारी भएन्।’ कल्भर्टमा निर्माण हुने सिमेन्ट, सरिया, ढुङ्गा, बालुवा र सरिया पनि चौधरीले आँफै खरिद गरेको बताए। वित्तिय समानिकरणको बजेट भएकाले सोही योजनालाई यो बर्ष पनि निरन्तरता दिन पाउने व्यवस्था छ।

अहिले कल्भर्ट निर्माणको काम सकिएको छ। ११ मिटर चौडाई र ६ मिटर लम्बाई तथा तीन मिटर उचाईको कल्भर्ट निर्माण भएको हो। कल्भर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष हेमराज विष्टले निर्माण व्यवसायीलाई  कल्भर्ट निर्माणको ठेक्का दिएको स्वीकार गरे। तर उनले आवश्यक सामान उपभोक्ता समितिले खरिद गरेको दावी गरे। 
कल्भर्ट २५ लाखमा निर्माण भएका बेला पूर्वाधार कार्यालयले गत आर्थिक वर्षमा नौ लाख ३५ हजार भुक्तानी दिएकोे पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख श्याम खड्काले बताए। ‘गत आर्थिक वर्षमा कल्भर्ट निर्माणको काम पूर्ण भएन्,’ उनले भने, ‘चालु आर्थिक वर्षमा काम पूर्ण हुन्छ, बाँकी रकम हामीले भुक्तानी दिने हो।’
 

कमेन्ट लोड गर्नुस