सुदूर नेपाललाई विश्वसँग जोड्दै

राहत नपाएको भन्दै धनगढी आउँदै गरेका महिलामाथि वडा अध्यक्षको निर्देशनमा कुटपिट

धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडाबाट उप–महानगरपालिकाको कार्यालयमा आउँदै गरेका महिलामाथि कुटपिट गरिएको छ। वडा नम्बर १२ जुगेडाका वास्तविक हुरी पीडितहरु राहत नपाएको भन्दै उप–महानगरपालिका घेराउ गर्न आईरहेका बेला बाटोमै कुटपिट भएको होे। आज जुगेडा सी गाउ वडा नम्बर १२ को कार्यालयमा ताला बन्दी पछि उनीहरु जिल्ला प्रशासन कार्यालय कैलाली र धनगढी उप–महानगरपालिका घेराउका लागि आउँदै थिए। तर जुगेडा ए गाँउमा वडा नम्वर १२ का अध्यक्षको निर्देशनमा युवाहरुले महिलालाई कुटपिट गरेको आरोप लागेको छ। 
ए गाँउमा वडा अध्यक्षका भाडाका गुण्डाहरुले महिलामाथि हातपात गरेको उनीहरुको दावी छ। वडा अध्यक्षको बिरोधमा नारावाजी सहित समूहमा आएका महिलाहरुमाथि ए गाँउमा हातपाती भएको स्थानीय महिला कृष्णा सिंहले बताईन्। मोटरसाइकलमा आएका तीन युवा र स्थानीयका घरहरुबाट आएका युवाहरुले महिलाको समूहलाई तितर–बितर बनाउँदै हातपात गरेको उनले बताईन्। धेरै महिलाहरुले सुनका गहना, मोवाइल र नगद समेत युवाहरुले खोसेर लगेको बताएका छन्। युवाहरुको समूह आएपछि केही महिलाहरुले भिडियो बनाउन खोज्दा मोवाइल खोसिएको हो। वडा अध्यक्ष गणेशप्रशाद जोशीले भने महिलाहरुले गलत आरोप लगाएको बताए। 

कमेन्ट लोड गर्नुस