नेपाल र वेस्ट इन्डिज भिड्दै
काठमाडौंः आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीवार वेस्ट इन्डिजसँग खेल्दैछ। वेस्ट इन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ।
तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्ट इन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ। पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो। नेपालले कुनै पनि विश्व बिजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो।
नेपालले यस अवसरलाई सदुपयोग गर्दै ऐतिहासिक जित निकाल्ने सोचमा नेपाल रहेको छ। पहिलो खेलमा अमेरिकालाई पराजित गरेको वेस्ट इन्डिज नेपाललाई पराजित गरि सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ। नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ। प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।