सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक विकास मन्त्रालयले उत्कृष्ट उद्यमीलाई गर्‍यो सम्मान

२०८० असार ६, ०२:४३ खबर संवाददाता

धनगढी: सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ। सामाजिक विकास मन्त्रालयले तयार गरेको उत्कृष्ट उद्यमी सम्मान कार्यविधि, २०७९ अनुसार छनोट भएका ११ जना यद्यमीलाई धनगढीमा सम्मान गरिएको हो।

मङ्गलवार भएको कार्यक्रममा सामाजिक विकास मन्त्री झपटबहादुर साउँदे विभिन्न उद्यम गरिरहेका ११ जनालाई जनही नगद ५० हजार पुरस्कारसहित सम्मान गरेका हुन्।सम्मानित हुनेमा चुरे गाउँपालिका वडा नम्बर ५ मा रहेको सुदूरपश्चिम एकीकृत कृषि तथा पशुपन्छी फर्मका सञ्चालक विकास न्यौपाने, कञ्चनपुरको कृष्णपुर-४ मा रहेको फोर फक्स क्याटल एण्ड ह्याचरी उद्योगका सञ्चालक हरेन्द्रबहादुर वोहरा, शुक्लाफाँटा-५ मा रहेको हुनैनाथ गार्मेन्टका सञ्चालक हेमा भट्ट र अछामको चक्र मिलन फर्निचर उद्योगका सञ्चालक चक्रबहादुर चलाउने रहेका छन्।

यस्तै, बझाङको मष्टा गाउँपालिका वडा नम्बर ७ मा रहेको हिमालयन नेपाली कागज उद्योगका सञ्चालक प्यारीलाल जेठारा, बाजुराको हिमाली गाउँपालिका वडा नम्बर २ मा रहेको हिमाली नेपाली हाते कागज उद्योगका सञ्चालक चन्द्रवीर बुढा र त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको प्रतिभा नेपाली हाते कागज उद्योगका सञ्चालक धनादेवी थापालाई सम्मान गरिएको छ।

उत्कृष्ट उद्यमीको सम्मान पाउनेमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ को ग्रीन माउन्टेन कृषि विकास फर्मका सञ्चालक सावित्रा ओझा र अजयमेरू गाउँपालिका वडा नम्बर ३ मा रहेको जिआर कृषि तथा पशुपालन फर्मका सञ्चालक लक्ष्मीकान्त पनेरू रहेका छन्। यस्तै, बैतडीको पुरचौडीं नगरपालिका वडा नम्बर ७ मा रहेको राताशिला कुटानी पिसानी उद्योगका सञ्चालक जयसिंह साउँद र दार्चुलाको महाकाली नगरपालिका-४ मा रहेको राजेश सिलाई सेन्टरका सञ्चालक राजेशसिंह नेपालीलाई उत्कृष्ट उद्यमीको सम्मान मिलेको छ।

सम्मान कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका प्रदेश अध्यक्ष रुकमिणी देवकोटाले उद्यमीलाई सम्मान गर्दा अन्यलाई पनि उद्यम गर्न प्रेरणा प्राप्त हुने बताइन्। उनले उद्यमी हुन सके आत्मसम्मान मिल्ने र आर्थिक अवस्थामा पनि सुधार हुने बताइन्।

सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री साउँदले प्रदेशको प्राकृति स्रोत र साधनको पहिचान गरि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सरकारको नीति रहेको बताए। 'नागरिकलाई उद्यमशील बनाउने सरकारको उद्देश्य रहेकाले जङ्गल जडिबुटी र कृषिबाट आत्मनिर्भर हुनुपर्छ,' उनले भने, 'खानी र खनिजको उपयोग गर्ने सरकारको लक्ष्य छ। उद्यमीको मनोबल बढाउन सम्मान गरिएको हो।'

कार्यक्रममा सामाजिक विका मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले ज्ञान, सिप, क्षमता र पुँजीको उपयोग गरेर विभिन्न क्षेत्रमा युवाहरूले उद्यमशील बन्नुपर्ने बताए। उनले आगामी दिनमा उद्योगको प्रगति होस्। रोजगारी दिन सक्ने अवस्था निर्माण होस्। उद्यमीको आत्मबोध र आत्मसम्मानका लागि पुरस्कार दिइएको बताए।

कार्यक्रममा मन्त्री साउँदले रोजगारी सिर्जना गर्न युवाहरूलाई उद्यमी बनाउन प्रेरणा मिलोस् भनेर पुरस्कार दिने निर्णय गरिएको बताए। पुँजीको अभावमा उद्यमी हुनबाट बन्चित हुने अवस्था नआओस् भनेर सरकारले सहुलियतमा ऋण दिने, उत्पादित सामग्रीको बजारीकरणका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्ने प्रदेश सचिव ढकालले बताए।

कमेन्ट लोड गर्नुस