सुदूर नेपाललाई विश्वसँग जोड्दै

कानून मन्त्री पृथ्वीको सपना मन्त्री भएको महिना दिनमै यसरी चुँडियो

२०८० असार ५, ०७:५१ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सपना यति छिट्टै चकनाचुर हुन्छ भनेर सायद कसैले सोचेका पनि थिएनन् होला। सरल स्वभाव र स्पट वक्ताका रुपमा परिचित सिँह नेपाली काँग्रेसका पुराना पुस्ताका नेतामध्ये एक हुन्। नेपाली राजनीतिक इतिहासमा उनको योगदान अतुलनीय रहेको विषयमा कसैको बिमती नहोला।

जीवनको लामो संघर्ष र त्यागपछि उनी जेठ ६ गते मात्र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेशभित्र विधिको शासन र सु–शासन कायम गर्ने अठोटका साथ मन्त्रीको पदबहाली ग्रहण गरेका सिंहको त्यो सपना भने एक महिना पनि टिक्न पाएन्। पृथ्वीबहादुर सिंह पृथ्वीबाटै सदाका लागि अस्ताए। उनी एक्लै अस्ताएनन् सँगै श्रीमती अमृतीदेबी र भाउजू जानकीदेबी सिंह पनि कहिलै नफर्कने गरी परलोक भए।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह मन्त्री नियुक्त भएको ३२ दिनमै यो संसारबाट विदा भए। मन्त्री सिंहसँगै उनकी धर्मपत्नी अमृतादेवी सिंहको पनि ज्यान गयो। सडक दुर्घटनामा परेका मन्त्री सिंह दम्पतीसँगै भाउजू जानकीदेवी सिंहको पनि ज्यान गएको हो। मन्त्री सिंहको परिवारमा असार ५ गते बज्रपात भएको छ। बझाङ जिल्लाले सालिन र सौम्य नेता गुमाएको छ भने सुदूरपश्चिम प्रदेश सरकारले एक जना सहयात्री गुमाउनुपरेको पीडा खेप्नुपरेको छ।
 

बझाङले एक काँग्रेसी नेता गुमायो
सरकारी कामको सिलसिलामा गृह जिल्ला बझाङ जान लाग्दा केदास्युँ गाउँपालिकाको वडा नम्बर १ देउरा बजार नजिकै भएको गाडी दुर्घटनाका कारण बझाङ जिल्लाले एक परिपक्व र सुझबुझ भएको राजनीतिज्ञ गुमाएको हो। राजनीति र समाजसेवा सँगसँगै गर्न सक्ने शालिन व्यक्तित्वका धनी मन्त्री सिंह जिल्लाका पुराना काँग्रेसी नेता हुन्। दुई पटकसम्म नेपाली काँग्रेस बझाङ जिल्ला कार्यसमितिका सभापति भएका सिंह काँग्रेसवृत्तको कुसल संगठनकर्ता थिए।

पार्टीभित्र र बाहिर लोकप्रिय नेताको पहिचान बनाएका मन्त्री सिंह पार्टीको काममा हरदम खटिन सक्ने क्षमता भएका नेताको छवि बनाएका थिए। पञ्चायत कालमै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय सिंह अहिले पटक २०७४ मा संघीय प्रतिनिधि सभाका लागि चुनाव लडेका थिए। थोरै मतान्तरले सिंह नेकपा एमालेका भैरवबहादुर सिंहसँग पराजित भएका थिए। गत मंसिर ४ मा भएको चुनावमा भने मन्त्री सिंह बझाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) बाट निर्वाचित भएका थिए।
 

शुल्क नलिने कानून व्यवसायी
मन्त्री सिंह बझाङका परिचित कानून व्यवसायी पनि थिए। जिल्लाका सर्वसाधारण र काँग्रेस निकट व्यक्तिका लागि निःशुल्क कानूनी बहस गर्न तयार हुने कानून व्यवसायीको पहिचान  सिंहले बनाएका थिए। आर्थिक समस्या भएका व्यक्तिका लागि अदालतमा गरिने बहसको सिंहले कुनै किसिमको शुल्क लिंदैनथे। अदालतमा मुद्दा मामिला पर्दा बझाङका सर्वसाधारणले सम्झिने व्यक्तिको दुर्घटनामा ज्यान जाँदा सिङ्गो जिल्ला स्तब्ध भएको कटक जप्रेलले बताएका छन्।
 

द्वन्द्वकालमा बाँच्न सफल सिंह कालङ्गामा अस्ताए
माओवादी द्वन्द्वका समयमा बझाङ काँग्रेसका अर्का नेता वेदप्रकाश जोशीलाई माओवादी विद्रोहीले अपहरण गरेर हत्या गरेका थिए। साबिक लुयेटा गाविस र हाल जयपृथ्वी नगरपालिका वडा नम्बर ५ घर भएका मन्त्री सिंह द्वन्द्वकालमा पनि जिल्लामा नै बस्थे। द्वन्द्वको समयमा माओवादी पक्षले एक महिना सिंहलाई आफ्नो कब्जामा राखेको थियो। एक महिनासम्म माओवादी कब्जामा रहे पनि उनको सकुशल  रिहाई भएको थियो।

पार्टी भित्र तटस्थ बस्न सक्ने, विपक्षी पार्टीबाट पनि आलोचित नहुने क्षमता मन्त्री सिंहमा रहेको बझाङ काँग्रेसका नेताहरूले बताएका छन्। सबैसँग सद्भाव कायम गर्न सक्ने व्यक्तित्वको दुःखद अन्त्य सरकारी कामको सिलसिलामा गृह जिल्ला जाने क्रममा भएको छ। द्वन्द्वकालमा माओवादीसँग बाँच्न सफल नेता सिंह गाडी दुर्घटनामा जोगिन सकेनन्।
 

मन्त्री सिंह धुली–ताक्लाकोट नाका खुलाउन चाहन्थे
२०७९ मंसिरमा भएको चुनाव जितेका मन्त्री सिंहले बझाङ जिल्लाको चीनसँगको धुली– ताक्लाकोट नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिन पहल गर्ने मुख्य चुनावी एजेन्डा थियो। सेती लोकमार्गसँग धुली नाका जोडेर चीनसँगको व्यापार धुलीनाकाबाट भएको हेर्ने सपना मन्त्री सिंहले बुनेका थिए।

बझाङलाई अन्तर्राष्ट्रिय नाकासँग जोड्ने योजनामा काम गर्न नपाउँदै मन्त्री सिंहले भौतिक देह त्याग गर्नुपर्ने दुःखद अवस्था आइलागेको छ। दुई छोराका पिता मन्त्री सिंहको धर्मपत्नीसहित भाउजूको पनि सडक दुर्घटनामा परेर असार  ५ गते निधन भएको छ। गत जेठ ६ गते शनिवार प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको शपथ खाएका सिंहले ३२ दिनमै अकाल मृत्युवरण गर्नुपरेको छ। मन्त्री सिंहको दुःखद निधनले सिङ्गो प्रदेश स्तब्ध भएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस