धनगढीमा घरजग्गा कारोबार ह्वात्तै, टीकापुर र महेन्द्रनगरमा कति पुग्यो?
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्य तीन पालिकाभित्र घरजग्गा कारोबार बढेको छ। कैलालीको धनगढी, टीकापुर र कञ्चनपुरको महेन्द्रनगरमा घरजग्गाको कारोबार बढेको हो। यी तीन सहरमा मात्र जेठ महिनामा १० हजार दुई सय ८६ कित्ताकाट भएको तथ्यांकले देखाएको छ। प्रदेशका प्रमुख तीन सहरमा जग्गाको कित्ताकाट बढेको हो।
जेठ महिनामा धनगढीमा देशभरीमै सबैभन्दा बढी कित्ताकाट भएको छ। महिनौदेखि सुस्त बनेको कित्ताकाट जेठमा बन्दीकै बिच पनि उछाल आएको छ। धनगढी मालपोतबाट एक महिनामा चार हजार ८२९ कित्ताकाट भएको अभिलेख छ। टीकापुरमा दुई हजार १७० कित्ताकाट भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।
त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा तीन हजार २८७ कित्ताकाट भएको छ। सुदूरपश्चिमका अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी धनगढी त्यसपछि महेन्द्रनगर र टीकापुरमा कित्ताकाट हुने गरेको छ। चालु आर्थिक वर्षको माघ महिनामा मात्र धनगढी क्षेत्रमा तीन हजार एक सय ९७ जग्गाको कित्ताकाट भएको थियो। चैत महिनामा धनगढीबाट एक हजार १८ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।
धनगढी देशभर बढी घरजग्गाको लिखत पारित हुने सुचीभित्र परेको छ। गत जेठमा जारी भूउपयोग नियमावलीअनुसार मंसिर २३ सम्म पालिकाहरूले जग्गालाई कृषि र गैरकृषि छुट्याइसक्नुपर्थ्यो। त्यसपछि गैरकृषि जग्गालाई पनि आवासीय, उद्योग, वन, खानी तथा खनिज, व्यावसायिकलगायत १० वर्गमा विभाजन गर्नुपर्ने नियमावलीमा उल्लेख छ। तर त्यसअनुसार पालिकाहरूले वर्गीकरण नगर्दा घरजग्गा कारोबार सुस्ताएको थियो।
चालु आर्थिक वर्षको साउनको तुलनामा भदौमा घरजग्गा कारोबार, राजस्व र कित्ताकाट बढेको थियो। लगत्तै असोजमा घटेको कारोबार कात्तिकदेखि बढ्दै गएको विभागको तथ्यांक छ। वैशाखमा फेरि घटेको कारोबार जेठमा बढेको हो। चालु आर्थिक वर्षभर सुस्ताएको घरजग्गा कारोबार जेठमा आएर बढेको छ। भूउपयोग नियमावली–०७९ मार्फत जग्गा खण्डीकरणलाई व्यवस्थित गर्ने र कृषि क्षेत्रको पहिचान गरी खाद्य सुरक्षालाई प्रत्याभूति गर्ने सरकारको योजना छ।
सुस्ताएको घरजग्गा कारोबारले क्रमशः लय समात्न थाले पनि बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गामा प्रवाह गर्ने कर्जा भने बढ्न सकेको छैन्। पछिल्लो समय तरलता अभाव, चर्को ब्याजदर, महंगी, मागमा आएको सुस्तता लगायत कारणले समग्र अर्थतन्त्रमै मन्दी देखिएको छ। सबैभन्दा बढी मन्दीको मारमा घरजग्गा व्यवसाय परेका छन्।