बझाङमा चार दिनदेखि यातायात ठप्प
बझाङः बझाङमा चार दिनदेखि यातायात ठप्प पारिएको छ। प्रदेश सरकारले निर्धारण गरेको नयाँ भाडादरका विरुद्धमा यातायात व्यवसायी रहेका हुन्। उनीहरुले लामो दूरीका सवारीसाधन सञ्चालन गरेका छैनन्।
सार्वजनिक सवारीसाधन बन्द भएका दिनदेखि नै यातायात व्यवसायीसँग छलफल भए पनि अहिलेसम्म गाडी खुल्ने टुङ्गो लागेको छैन।
यातायातका साधन बन्द हुँदा जिल्ला बाहिर आउने र जाने यात्रु समस्यामा छन्। विशेष गरी खेतीपाती लगाउने समय नजिक आइरहेकाले पनि रोजगारीका लागि भारत गएका बझाङी घर फर्किनेहरु समस्यामा परेका छन। उनीहरु कैलाली र कञ्चनपुरमा अलपत्र छन्।
प्रदेश सरकारले धनगढीदेखि बझाङसम्मको भाडा एक हजार ४१ रुपैयाँ तोकिएको थियो। यातायात व्यवसायीहरूले भने पुरानै भाडा १ हजार २५० रुपैयाँ लिन पाउनुपर्ने माग गरेका छन्।
प्रदेश सरकारले एकलौटी रूपमा भाडादर कायम गरेको भन्दै यातायात व्यवसायीले यातायातका साधन चार दिनदेखि पूर्णरूपमा बन्द गरेका हुन्।