धनगढीमा विद्यायलको जमिन खनेर ठेकेदारले गरे माटो बिक्री
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १४ ‘जी’ गाउँको शिवशंकर आधारभूत विद्यालयले ६ बिघा जग्गा भाडामा लगाएको छ।
विद्यालयले धनगढी–५ का यज्ञराज जोशीलाई कृषि तथा कृषि पर्यटनमा आधारित व्यवसाय सञ्चालन गर्न जग्गा भाडामा दिएको हो। विद्यालय र जोशी बिच २०७७ असोज ६ गते वार्षिक ३ लाख १७ हजार लिने दिने सम्झौता गरिएको छ। १२ वर्षका लागि गरिएको सम्झौतामा तेस्रो वर्षदेखि भाडा रकम हरेक वर्ष १० प्रतिशतले बढ्ने उल्लेख छ।
तर, जोशीले यो वर्षको भाडा बापत हुने रकम विद्यालयलाई बुझाएका छैनन्। कृषि पर्यटनमा आधारित व्यवसाय गर्न जग्गा भडामा लिए/दिएको भए पनि व्यवसाय सञ्चालन गरिएको छैन। ६ बिघामा ९ पोखरी निर्माण गरेर माटो मात्रै बिक्री गरिएको छ। विद्यालयको जग्गा अभिभावक र जनप्रतिनिधिको सल्लाहमा भाडमा लगाइएको प्रधानाध्यापक लक्ष्मीराज ओझाले बताए। ‘२०५६ सालमा स्थापना भएको विद्यालय हो। आयस्रोत र दरबन्दी अभाव भएकाले जग्गा भाडामा लगाइएको हो,’ उनले भने ‘अभिभावक र जनप्रतिनिधिको उपस्थितिमा जग्गा बाझो रहनुभन्दा दीर्घकालीन स्रोत जुटाउन अभिभावक भेलाको निर्णयअनुसार टेण्डर गरेर ठेक्का लगाएका हौँ।’
शिवशंकर आधारभूत विद्यालयले २०७५ माघ ३ गते वार्षिक एक लाख १० हजार भाडा लिने सर्तमा वडा नम्बर १४ कै स्थानीय शम्भु गिरीलाई जग्गा भाडाम दिने सम्झौता गरेको छ। सम्झौताको बुँदा नम्बर ५ मा सुरुका दुई वर्षसम्म पोखरी बनाई बचेको माटो गिरीले नै उठाउन पाइने उल्लेख छ। गिरीले माटो लगेर सम्झौता तोडेकाले २०७७ असोजमा यज्ञराज जोशीलाई ठेक्कामा दिइएको हो।
कक्षा ८ सम्मको शिवशंकर आधारभूत विद्यालयमा यो वर्ष १६६ जना विद्यार्थी छन्। विद्यालयमा १० जना शिक्षक कर्मचारी छन्। राहतमा ५ जना, निजी स्रोतका २ जना, बालविकास कक्षाका २ र एक जना कार्यालय सहयोगी छन्।
शिवशंकर आधारभूत विद्यालय नजिकै रहेको ‘सी’ गाउँको सर्वोदय माध्यमिक विद्यालयलले २ बिघा १२ कट्ठा सार्वजनिक गौचर डोटी विपिनगरका हुकुमबहादुर बोहरालाई माछा पोखरी निर्माण गर्न ठेक्कामा दिएको छ। यस्तै २०३७ सालमा विद्यालय खोल्न छुट्याइएको ४ बिघा जग्गा माछापालन गर्ने प्रयोजनका लागि रामचन्द्र जोशीलाई भाडामा दिइएको छ। जोशीले माछापालन गर्दै आएका छन् भने साउँदले पोखरी खनेर छोडेका छन्।
स्थानीयले माछापालनको नाममा माटो बिक्री गर्ने काम भएको बताएका छन्। जग्गाको स्वरुप परिवर्तन हुने गरि माटो उत्खनन् गरिँदा पनि सर्वोदय माध्यमिक विद्यालयले कुनै रोकटोक गरेको छैन्। ताल निर्माण गर्दा ठेकेदारले माटो अन्तै बिक्री गरेको स्थानीयले बताएका छन्। तर, विद्यालयका प्रधानाध्यापक जीतबहादुर चौधरीले जग्गाको स्वरुप परिवर्तन गर्न नपाइएने भए पनि बाध्यताले माछापालन गर्न जग्गा ठेक्कामा लगाउनु परेको बताए। ‘बाध्यता भयो। स्कुल बन्द गर्न पनि नसकिने, समुदायले पनि नमान्ने,’ उनले भने, ‘विद्यालय समायोजन गर्नुर्पयो भन्दा स्थानीय सरकारले नगरेपछि बाध्यताले आम्दानीको स्रोत जुटाउन अभिभावक भेला गरेर माछापालन गर्न दिइएको हो।’
शिवशंकर आधारभूत र सर्वोदय माध्यमिक विद्यालयले स्थायी र राहत दरबन्दीको अभावमा निजी स्रोतका शिक्षक भर्ना गरिएको बताएका छन्। निजी स्रोत शिक्षकलाई तलब खुवाउन विद्यालयको जग्गा भाडामा लगाइएको तर्क गरिएको छ। दरबन्दी मिलान र न्यून विद्यार्थी संख्या भएका विद्यालय समायोजन गरिए जग्गा भाडामा लगाउनुपर्ने अवस्था हट्ने प्रधानाध्यापक चौधरीले बताए। ‘यता नजिकै विद्यालयहरू छन्। नजिक नजिक विद्यालयहरू हुनु जरुरी छैन। विद्यालय समायोजन गर्नुपर्छ। नक्साङ्कनका आधारमा विद्यालय समायोजन गरिनुपर्छ,’ उनले भने, ‘विद्यालय व्यवस्थित बनाउनुपर्छ। एउटा वडामा एउटा व्यवस्थित स्कुल खोल्यो भने सबैभन्दा राम्रो हुन्छ।’
धनगढी–१४ मा मात्रै ६ वटा सामुदायिक र तीन वटा निजी विद्यालय सञ्चालनमा छन्। कम विद्यार्थी भएका विद्यालयमा शिक्षक र भौतिक पूर्वाधार राम्रो छ भने बढी विद्यार्थी भएका विद्यालयमा शिक्षक र कक्षा कोठा अपुग छन्।
यस्तै, पुनर्वास कम्पनीले जग्गा वितरण गर्दा खुला ठाउँ, खेलमैदान र विपद्को समयमा प्रयोग गर्न छोडिएको सार्वजनिक जग्गा विद्यालयले मनलाग्दी भाडामा दिने र माटो बिक्री गर्ने काम भइरहेको छ। विद्यालयहरूले भने विद्यालय व्यवस्थापन समिति र स्थानीयको अनुमति लिएर जग्गा भाडामा लगाएको बताएका छन्।
धनगढीमा सार्वजनिक जग्गाको दुरुपयोग बढ्दै गएको हो। सरकारी विद्यालयको जग्गा जथाभावी भाडामा लगाएर सार्वजनिक सम्पत्तिको दुरुपयोग भइरहेको छ।
धनगढीका सामुदायिक विद्यालयले चर्चेको सार्वजनिक जग्गा मनपरि ठेक्कामा दिने र माटो उत्खनन् गरेर विक्री गर्दै आएको पाइएको छ। माछापालनको नाममा ताल खनेर माटो विक्री गर्ने काम हुँदै आएको हो।