गेटामा फेरि स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने कुरो किन आयो?
धनगढीः गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय चलाउने वर्तमान सरकारकै निर्णय विपरीत बजेट भाषणमा प्रतिष्ठान चलाउन बजेटको व्यवस्था गरिने कुरा उल्लेख छ। गत माघ २९ मा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको वर्तमान सरकारले आफ्नै निर्णय लत्याएको छ।
यस्तै, गेटामा ६ सय शय्याको अस्पताल चलाउन भौतिक पूर्वाधार तयार भए पनि एक सय शय्याको अस्पताल चलाउन बजेट आउने भएको छ। गेटामा विश्वविद्यालय चलाउने निर्णयबाट सरकार पछि हटेको भन्दै सर्वत्र सरकार र सुदूरपश्चिमका सांसदहरूको आलोचना हुन थालेको छ।
अर्थमन्त्रीको बजेट व्यक्तव्यपछि धनगढीका खेमराज पन्तले लेखेका छन्, 'गेटामा ५०० शय्याको अस्पताल नचलाउने भनेको प्रतिष्ठान बनाएर प्रदेश मातहत ल्याउने प्रपञ्च हो। प्रदेश मातहत ल्याउँदा समग्र सुदूपश्चिमलाई धोका हुन्छ। किनभने, सुदूरपश्चिमको स्वास्थ्यको पूरै बजेट हाल्दा पनि प्रतिष्ठान राम्रोसँग चल्न सक्दैन। फेरि प्रदेशको स्वास्थ्यको पूरै बजेट गेटामा हाले अन्य जिल्लामा के दिन्छन्? संघ अन्तर्गत जान कम्तीमा ५०० शय्या चाहिन्छ। सबैले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रलाई चलखेल गर्ने क्रिडास्थल बनाए।'
पन्त जस्तै गेटामा विश्वविद्यालय हुनुपर्छ भनेर सुरुदेखि आवाज उठाउनेहरू सरकारको बजेट वक्तव्य सुनेर निराश भएका छन्। सोमवार अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेटको बुँदा नम्बर २४२ मा गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने कुरा उल्लेख छ।
यस्तै, गेटा अस्पताललाई एक सय शय्याको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था गरेको अर्थमन्त्रीले उल्लेख गरेका छन्। तर, वर्तमान सरकारले २०७९ माघ २९ मा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत फागुन १ मा भएको सुदूरपश्चिम भ्रमणमा पनि गेटामा विश्वविद्यालय हुने बताएका थिए। तर, बजेटमा भने प्रतिष्ठान संचालन गर्ने कुरा आएको छ। सरकारले आफैंले गरेको नीतिगत निर्णय विपरीत बजेटमा कुरा आउनु गलत रहेको र यो कुराको बिरोध गरिने पूर्व सांसद डाक्टर दिपकप्रकाश भट्टले बताए।
'सरकारले माघ ३० गते नीतिगत निर्णय गरेर गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न तयार भएको हो,' उनले भने, 'वर्तमान प्रधानमन्त्रीले आफैंले गरेको निर्णय र सुदूरपश्चिमको मागभन्दा फरक तरिकाले प्रतिष्ठान चलाउने कुरा मान्य छैन। यसको बिरोध गर्नुपर्छ।' सरकारले गेटामा भवन निर्माण गर्न करिब ६ अर्ब खर्च गरेको छ। गेटामा ६ सय शय्याको अस्पताल सञ्चालन गर्ने पूर्वाधार निर्माण भएका छन्।
गेटामा विश्वविद्यालय चलाउने भनेर प्रतिष्ठान चलाउन खोज्नु धोका भएको युवा नेता लोकराज पाण्डेय आगोले बताएका छन्। 'गेटामा सुदूरपश्चिमवासीमाथि धोका हुँदैछ। विश्वविद्यालयभन्दा अर्को कुरा हामीलाई मान्य हुँदैन। सुदूरपश्चिम अहिले नेता नै नभएको जस्तो भयो,' उनले भने, 'कुनै पनि बाहनामा विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेको मान्य छैन। अब आन्दोलन गर्नुपर्छ।'
बजेट भाषणमा स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने बताएको सरकारले प्रतिष्ठान चलाउन कम्तिमा दुई वर्षसम्म दुई सय शय्याको अस्पताल चलाउनुपर्ने कुराको हेक्का राखेको छैन। प्रतिष्ठान नै चलाउने मनसाय भए दुई सय शय्याको अस्पताल चलाउने कुरा बजेट व्यक्तव्यमा आउनुपर्ने हो। यो पटक सरकारले २०७८ चैतमा गेटामा दुई सय शय्याको अस्पताल तत्काल चाउने निर्णयलाई पनि लात हानेर एक सय शय्यामा अस्पताल चलाउन बजेट दिने कुरा गरेको छ।
तर,२०७९ मा गेटामा दुई सय शय्याको अस्पताल चलाउन सरकारले डाक्टर प्रमोद जोशीलाई निर्देशकको जिम्मेवारी दिएको छ। भौतिक पूर्वाधार खडा भएर पनि गेटामा विश्वविद्यालय सञ्चालनमा नल्याउनुले सरकार मेडिकल माफियाको चङ्गुलमा परेको स्पष्ट भएको पाण्डेयले बताए। 'सरकार मेडिकल माफियाको चङ्गुलमा फसेको आभास भएको छ। सुदूरपश्चिम नेता, पूर्व प्रधानमन्त्री, मन्त्री र सांसद बिहिन जस्तो भएको छ,' उनले भने, 'गेटामा प्रतिष्ठान चलाएर प्रदेश सरकारलाई तिमी चलाउ भन्ने खेल हुँदैछ। यो बिल्कुल मान्य हुन्न।'
अहिलेसम्म सुदूरपश्चिममा सरकारी र निजीस्तरबाट मेडिकल शिक्षाको पढाई हुने र बिरामीको उपचार हुने संस्था स्थापना भएका छैनन्। लामो समयपछि गेटामा भौतिक संरचना बने पनि कहिले मेडिकल कलेज, कहिले विश्वविद्यालय र फेरि प्रतिष्ठान बनाउने भनेर विवाद खडा गर्न सरकार नै लागेको देखिएको छ।