बेहडाबाबा मेलामा भद्रगोल, किन भयो दुई जनाको मृत्यु?
धनगढीः धनगढीको बेहडाबाबा मेलामा भद्रगोल भएको आज (मङ्गलवार) मेला स्थलमा घटेका घटना र देखिएका दृश्यले पुष्टि गरेको छ। धनगढी-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरमा हरेक वर्ष गङ्गा दशहराका दिनबाट चार दिनसम्म मेला लाग्ने गर्छ। तर, यो वर्ष भने मन्दिर व्यवस्थापन समितिले मेला व्यवस्थापनमा लापरबाही गरेकाले ज्यान जानेसम्मका घटना घटेका छन्।
मेला भर्न गएका दुई जनाको ज्यान गयो
बेहडाबाबा मेलाको व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा धनगढी उपमहानगरपालिका १६ पथरीमा कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले एक साईकलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका धनगढी-१ पशुपति टोलका ३६ वर्षीय अमृत सोवाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ।
यस्तै, बेहडाबाबा स्थित तालमा डुबेर अर्का एक जना युवको मृत्यु भएको छ। डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाटको मङ्गलवार बिहान ५ बजे तालमा डुबेर मृत्यु भएको हो।
बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको थियो। निकै गहिरो तालमा पौडी खेल्न रोक्ने अवस्था हुँदाहुँदै पनि मन्दिर व्यवस्थापन समिति चुकेका कारण भाटको मृत्यु भएको छ। मेलामा सुरक्षाको प्रवन्ध राम्रो नहुँदा दुई जनाको ज्यान गएको छ भने सयौंले सास्ती भोग्नु परेको टिप्पणी गरेका छन्।
पार्किङका नाममा असुली धन्दा
बेहडाबाबा मेलामा यो वर्ष पार्किङका नाममा रकम असुली धन्दा चलाइएको सर्वसाधारणले टिप्पणी गरेका छन्। धनगढीका चित्रराज भट्टले गङ्गा दशहराको दिन शिव जीकै आगाडि सवारी पार्किङको नामा लुटिएको उल्लेख गरेका छन्। भट्टले गरेको फेसबुक पोष्टमा थप १९ जनाले प्रतिक्रिया लेखेका छन्।
धनगढी ग्यालरी नामक फेसबुक पेजमा धनगढीका घनश्याम भट्टले सवारी पार्किङ शुल्क लिएको बारे ब्यङ्ग गर्दै ‘शिव जीले गाडी मोटरहरूको पनि रक्षा गरुन्’ लेखेका छन्। यो पोष्टमा ११ जनाले प्रतक्रिया लेखेका छन्। धनगढीका काशीराम विष्टले पार्किङ शुल्क चर्को भएको भन्दै सरोकारवालको ध्यानाकर्षण गराएका छन्। यस्तै, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बेहडाबाबा मन्दिर व्यवस्थापन समितिले धार्मिक स्थलमा व्यापार गर्न खोजेको उल्लेख गरेका छन्। जोशीले पार्किङ शुल्क १० देखि १५ रुपैयाँ लिनु स्वाभाविक भएको लेखेका छन्। जोशीको भनाइलाई समर्थन गर्दै २८ जनाले टिप्पणी लेखेका छन्। मङ्गलवार बेहडाबाबा दर्शन गर्न गएका अधिकांशले बेहडाबाबा मेलामा भद्रगोल र अस्तव्यस्त अवस्था रहेको गुनासो गरेका छन्। गाडी पार्किङ शुल्क मात्रै १ सयदेखि ४ सयसम्म तिर्नु परेपछि सर्वसधारणले व्यापक आलोचना गरेका हुन्।
मन्दिर व्यवस्थापन समितिले मोटरसाइकल, स्कुटर पार्किङ गरेको एक सय, अटोरिक्सा पार्किङको दुई सय, ट्याक्टरको तीन सय, जिप र कारको दुई सय पचास र बस पार्किङ गरेको ४५० असुली गरेको भन्दै आलोचना भएको हो। तर, सर्वत्र आलोचना भएपछि पार्किङ शुल्क कम गरिएको मन्दिर व्यवस्थापनले दाबी गरेको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले पार्किङ शुल्क तोक्दा त्रुटि भएको तर अन्य व्यवस्थापकीय पक्ष राम्रो रहेको दाबी गरेका छन्। उनले अघिल्ला वर्ष झै यो वर्ष पनि मेला आयोजना गरिएको बताएका छन्।
मेलामा सामानको मूल्य मनलाग्दी
मन्दिर व्यवस्थापन समितिले मेलामा सयौं स्टल राखेको छ।
तर, ती पसलहरूमा दर्शनार्थीहरूबाट मनलाग्दी मूल्य असुल भइरहेको सर्वसाधारणले गुनासो गरेका छन्। मन्दिर परिसरमा राखिएका पसलमा एक गिलास लस्सीकै एक सय रुपैयाँ मूल्य असुल भइरहेको छ। भक्तजनलाई लुट्ने उपक्रमको साक्षी मन्दिर व्यवस्थापन भएको भन्दै धनगढीका लक्ष्मण जोशीले मन्दिर व्यवस्थापन समितिको आलोचना गरेका छन्।
यातायात अस्तव्यस्त
दशहराका दिन सबैभन्दा बढी श्रद्धालु आउने भए पनि यातायात व्यवस्थापनको कुनै योजना नहुँदा दर्शनार्थीहरू घण्टौं सडक जाममा परेका छन्। मेला व्यवस्थापन गर्न मन्दिर व्यवस्थापन समितिले स्थानीय प्रशासन र उपमहानगरसँग कुनै समन्वय नगरेको पाइएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले सबैलाई पत्राचार गरेको बताए पनि बसेर कुनै पनि पक्षसँग मेला व्यवस्थापन गर्न छलफल र योजना नबनेको बताएका हुन्।
उपमहानगरसँग समन्वय गरिएन
उपमहानगरपालिकाले पनि मन्दिर व्यवस्थापन समितिले समन्वय र सहयोग नमागेको बताएको छ। वडा कार्यालयको समन्वयमा सडकमा ग्रेडर लगाइएको र सार्वजनिक विदा दिने काम भएको नगरप्रमुख गोपाल हमालले बताएका छन्। ‘मन्दिर व्यवस्थापनले कुनै सहयोग माग्ने र समन्वय गर्ने काम गरेको छैन,’ उनले भने, ‘उपमहानगरपालिकासँग समन्वय र सहयोग मागेको भए जिल्ला प्रशासनसँग सहकार्य गरेर सुरक्षा निकायको बाक्लो परिचालन र अन्य आवश्यक उपाय गर्न हुन्थ्यो।
तर, व्यवस्थापन समितिले कुनै समन्वय नै गर्न चाहेन।’ मेल व्यवस्थापन गर्न मन्दिर वयवस्थापन समितिले स्थानीय सरकार, प्रशासन र सरोकारवालासँग सहकार्य नगर्दा दुई जनाको मृत्यु हुनुका साथै कयौंले सास्ती पाएको पाइएको हो।
बेहडाबाबामा आजबाट सुरू भएको मेला भर्न सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट ठुलो संख्यामा भक्तजन आउने गर्छन्। बेहडाबाबा मेला जेठ १९ गतेसम्म चल्ने छ। मन्दिर व्यवस्थापन समितिले पार्किङको नाममा चर्को असुली गरेको र मेला व्यवस्थापन गर्न नसकेको भन्दै चर्को आलोचना भएको छ।