धनगढीका १६ सडक एडिबीले बनाउने भन्दै बर्षाैसम्म ठगेको आरोप
धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा रहेको बोराडाँडी तारानगर सडक भत्किएर भताभुङग भएकै बर्ष वितिसक्यो। स्थानीयले सडक मर्मतका लागि पटक–पटक धनगढी उप–महानगरपालिकालाई आग्रह गर्दा उप–महानगरपालिकाको एउटै जवाफ थियो। एसियाली विकास बैंकको ऋण लगानीमा सुरु भएको क्षेत्रीय सहरी विकास आयोजनामा उक्त सडक परिसकेकाले अहिले खर्च गर्नुको कुनै औचित्य छैन्। तर सडक निर्माणका लागि टेण्डरको प्रक्रिया अगाडी बढ्दै गर्दा उक्त सडकलाई निर्माणको सुचिबाट हटाईएको छ। तीन बर्षदेखि उक्त सडकमा कुनै पनि मर्मत समेत नगरि अहिले निर्माणको योजनाबाट हटाईएपछि स्थानीय निराश भएका छन्। स्थानीय भागरथी जोशीले आयोजना कार्यालय र धनगढी उप–महानगरपालिकाले झुठो आश्वासन दिएर ठगेको आरोप लगाईन्।
यस्तै धनगढीमा धेरै आवतजावत हुने भन्सार रोड–सन्तोषीटोल सडकमा पनि क्षेत्रीय सहरी विकास आयोजनाको नाम दिएर बर्षाैदेखि मर्मतको योजना पनि राखिएको थिएन्। तर अहिले आएर उक्त सडक आधा पनि नबन्ने भएपछि स्थानीय वासिन्दा निराश भएका छन्। एडिवीको ऋण लगानी सहितको योजनामा सडकलाई राखेको भन्दै उप–महानगरपालिकाले ठगेको आरोप स्थानीय डम्मरवहादुर विष्टको छ। क्षेत्रीय शहरी विकास आयोजनाले निर्माण गर्ने भन्दै बर्षाैदेखि मर्मत समेत नगरिएका धनगढीका १६ सडक अन्त्यमा निर्माणको सुचिमा नपरेपछि स्थानीय निराश भएका छन्। आयोजना अन्तरगत २३ वटा सडकहरु निर्माण हुने भन्दै विगत तीन बर्षयता कुनै पनि विकासे अड्डाले ति सडकमा मर्मतको काम समेत गरेको छैन्।
तर तीन बर्षपछि बजेट अभाव भएको भन्दै २३ सडक मध्ये ७ वटा सडक मात्रै निर्माण हुने भएपछि बाँकी १६ सडकहरुको निर्माणमा भने अन्योलता बढेको छ। आयोजनाका लागि छनौट भएका अधिकासं सडकहरु दुरावस्थामा पुगिसक्दा समेत धनगढी उप–महानगरपालिका शहरी विकास आयोजनामा छनौट भइसकेकाले खर्च किन गर्ने भन्दै पन्छीदा आउको थियो। उप–महानगरपालिकाले सडक मर्मत कुरा त परै जाओस बर्खाको समयमा ति सडकहरुमा पर्याप्त ग्रावेल समेत नहालिदिएपछि सास्ती व्यहोर्न परेको थियो।
आयोजनाका लागि छनौट भएका २३ वटा सडक मध्ये धनगढी गाउँ–बेली सडक, धनगढी–त्रिवेणी सडक, धनगढी–मोहना सडक, पुरानो भन्सार सडक, नगरपालिका सडक, रातोपुल–तारानगर सडक, चटकपुर–राजघाट सडक, बोराडाँडी–तारानगर खुटिया सडक, बोराडाडी फाप्ला सडक, जाखोर तालक सडक, उत्तरवेहडी सडक, जुगेडा जोड्ने सडक, नैनादेवी सडक, फुलवारी सडक गरि १६ वटा सडक बजेट अभाव भएको भन्दै नबन्ने भएका छन्। ७ वटा सडक आयोजना अन्तरगत निर्माण हुनेछन् भने मुख्य सडक समेत आधा पनि नबन्ने भएको छ। आयोजना कार्यान्वयन गरिररहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाईका प्रमुख सुरेश वाग्लेले भने बाँकी सडकहरु स्थानीय तह र सघन सहरी विकास आयोजनामा राखेर निर्माण गर्ने बताए।
धनगढी बसपार्क क्षेत्रको सडक भत्किएको बेला धनगढी उप–महानगरपालिकाले पटक–पटक क्षेत्रीय सहरी विकास आयोजनाले बनाउने भन्दै पन्छिएको थियो। पछि चौतर्फी विरोधपछि उक्त सडक निर्माण भयो। अहिले तीन बर्ष सम्म निर्माणको आश्वासन देखाउदै अन्त्यमा निर्माण सुचिमा नपरेका १६ सडक वरपरका वासिन्दा र समग्र धनगढीवासी सो बेला वसपार्क क्षेत्रका व्यापारीहरुले दिएको दवाव सम्झिरहेका छन्।