सातदोबाटोसँग थ्री स्टार पराजित
काठमाडौंः सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा शनिबार थ्री स्टार क्लबलाई ०–२ गोलको नतिजामा पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २४औं मिनेटमा गोल गर्दै ओपोकुले सातदोबाटोलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको थ्री स्टारले दोस्रो हाफको सुरुआतमै पुनः गोल खायो। ओपोकुले नै ४७औं मिनेटमा फ्रि–किकमार्फत सोझै गोल गर्दै सातदोबाटोको अग्रता दोब्बर पारे।
जितसँगै १९ खेलबाट २९ अंक जोडेको सातदोबाटो लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट २६ अंक जोडेको थ्री स्टार पाँचौं स्थानमा झरेको छ। शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको १९ चरण सकिँदा ३६ अंक छ।
दोस्रो स्थानको जावलाखेल युथ क्लबको ३२ र तेस्रो स्थानको मछिन्द्रको ३१ अंक छ। रेलिगेसन जोनमा रहेका फ्रेन्ड्स क्लब र एफसी खुमलटारको क्रमशः २१ र १८ अंक छ।