सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकारका सय दिनः के–के भए उपलब्धि?

२०८० जेठ ५, १२:०२ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सय दिन पुगेको छ। गत माघ २७ मा शपथ खाएका मुख्यमन्त्री शाहको शुक्रवार पदभार ग्रहण गरेको सय दिन पुगेको हो।

शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले सरकारका सय दिनका उपलब्धि सार्वजनिक गरेका छन्। मुख्यमन्त्रीले राजनीतिक सहमति र स्थायित्वको नेतृत्व गर्दै वर्तमान सरकारले काम गरिरहेको उनको दाबी छ।

भौतिक पूर्वाधार विकासमा बढोत्तरी, वार्षिक विकास कार्यक्रम पहिचान छनोट र प्राथमिकीकरणमा अनुशासित र जवाफदेही प्रणाली स्थापनाको सुरुवात र वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको उच्चतम समन्वय र सहकार्य संस्कृतिको विजारोपण भएको उल्लेख गरिएको छ। सरकारले धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधार निर्माण, विपद् जोखिम न्यूनीकरणमा सहकार्य र शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको पहल थालिएको मुख्यमन्त्री शाहले बताए।

यस्ता छन् उपलब्धि
सरकारले पूर्वाधारतर्फ २२ किलोमिटर पक्की र ७५ किलोमीटर ग्राभेल सडक निर्माण भएको र खानेपानीका ३३ वटा आयोजनाबाट ४ हजार ५३८ जना लभान्वित भएका छन्। यो अवधिमा ३ वटा सडक पुल र १ झोलुङ्गेपुलको काम सम्पन्न भएको छ।
प्रदेश सरकारले थप १ हजार २२६ हेक्टरमा सिँचाइ सुविधा पुगेको, १५० लाख किलोग्राम खोटो र ५ लाख किलोग्राम जडिबुटी संकलन हुँदा प्रदेशभर ४५ हजार बिरुवा रोपिएको जनाएको छ।

एक सय दिनको अवधिमा प्रदेश सरकारले सदाचार नीति र भ्रष्टाचार नियन्त्रण कार्ययोजना तर्जुमा गरिएको छ। मागमा आधारित अनुशासित बजेट तर्जुमा प्रक्रियाको सुरुवात भएको, संघ र स्थानीय तहसँग समन्वय एवं विकास साझेदारसँग परामर्श  गरिनुका साथै ३ लाख ५० हजार पशुपन्छीलाई खोप, आलु, किबी र चैते धान खेती विस्तार भएको सरकारले आफ्नो सय दिनको उपलब्धि मानेको छ।

मुख्यमन्त्री शाहले प्रदेशको वस्तुस्थिति अध्ययन, विभिन्न विकास आयोजना र जिल्लाहरूको स्थलगत अवलोकन र अनुगमन गरी समस्या पहिचान र भावी कार्यदिशा निर्धारण गर्ने काम भएको बताए। सरकारले प्रदेशको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पक्षको उजागर गर्न मानसखण्ड सम्मेलन सम्पन्न गरेको, खप्तड, रामारोशन पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि विशेष पहल हुनुलाई सरकारको उपलब्धि ठानेको छ।

यस्तै, प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको तयारी पूरा हुनुलाई पनि सरकारले उपलब्धि मानेको छ। सय दिनको अवधिमा सरकारले मुख्य रुपमा प्रणाली सुधारमा केन्द्रित रहेर काम गरेको जनाएको छ। सरकारले लामो समयदेखि निर्माण कार्यमा कुनै प्रगति नभएको विकास आयोजनाको स्थलगत अनुगमन गरि सम्बन्धित निर्माण व्यवसायी र कर्मचारीलाई आयोजनाको शीघ्र कार्यान्वयन गर्न निर्देशन दिइएको छ। 

प्रदेश सरकारले अनुशासन नीतिगत र प्रणालीगत सुधारका अतिरिक्त विकास निर्माणलाई तीव्रता दिइएको जनाएको छ। सरकारले पहिलो चौमासिकमा रहेको १४ प्रतिशतको न्यून प्रगति दरलाई बढाएर ३३ प्रतिशतमा पु¥याइएको छ। मुख्यमन्त्री शाहले प्रदेशमा रहेका राष्ट्रिय गौरव र प्रादेशिक गौरवका आयोजना कार्यान्वयनमा तीव्रता दिन समन्वय गरिएको दाबी छ। साथै संघीय सरकार तथा कुटनीतिक एवं विकास साझेदार निकायसँग समन्वय र परामर्श गरिएको जनाएको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस