सुदूरपश्चिमको आर्थिक वृद्धिमा संकुचन, दुई प्रतिशत नपुग्दै ‘ब्रेक’
धनगढीः राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा सुदूरपश्चिमको आर्थिक वृद्धिदरमा संकुचन हुने प्रारम्भिक अनुमान गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रादेशिक लेखा अनुमान प्रतिवेदनले सुदूरपश्चिमको आर्थिक वृद्धिदर १ दशमलव ७८ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ।
गत आर्थिक वर्षमा कार्यालयले सुदूरपश्चिमको ४ दशमलव ८ प्रतिशत आर्थिक वृद्धि हुने संशोधित अनुमान गरेको हो। यस्तै, जीडीपीमा पनि यस प्रदेशको योगदान कम रहने राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले बताए। आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब ४५ अर्ब जीडीपीमा योगदान रहने अनुमान गरिएकोमा आर्थिक वर्ष २०७९/८० मा तीन खर्ब ७६ अर्ब रहने प्रारम्भिक अनुमान गरिएको छ।
सुदूरपश्चिम सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदानका हिसाबले दोस्रो स्थानमा छ। प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिमका नागरिकको प्रतिव्यक्ति आय एक हजार ६३ अमेरिकी डलर हुने अनुमान छ। चालु आर्थिक वर्षको ९ महिना (गत चैत) सम्मको वास्तविक तथ्यांक र आगामी तीन महिना (वैशाखदेखि असारसम्म) को अनुमानित तथ्यांकका आधारमा कार्यालयले प्रादेशिक लेखा तथ्यांक सार्वजनिक गरेको हो।
कार्यालयले प्रदेशस्तरको कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्ने काम आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरेको हो। कार्यालयले विश्वमा प्रचलित एक विधि (टप टु डाउन एप्रोच) मा आधारित भएर यस्तो अनुमान गर्दै आएको छ। चालु आवमा यो प्रदेशको जीडीपी ३ खर्ब ७६ अर्ब हुने अनुमान छ। गत वर्ष यो ३ खर्ब ४५ अर्ब रहने छ।
कुल गार्हस्थ उत्पादनमा यसले ७ दशमलव शून्य प्रतिशत हिस्सा ओगटेको छ भने गत आवमा पनि ७ दशमलव शून्य प्रतिशत पुग्नेछ। गत वर्ष वृद्धिदर ४.७८ प्रतिशत रहेकामा यो वर्ष १.७८ प्रतिशत कायम रहने अनुमान छ। जीडीपीमा सबैभन्दा बढी योगदान ३३.४ प्रतिशत कृषि क्षेत्रको छ। सबैभन्दा कम योगदान शून्य दशमल १ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ।