धनगढीमा जनप्रतिनिधिकै संलग्नतामा जग्गा कब्जा, पीडितको उठीवास
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा आफैंले बिक्री गरेको जग्गा फेरि आफ्नै नाममा दर्ता गर्ने काम भएको छ। डडेल्धुराका लामुणि ओझाले २०५५ सालमा बिक्री गरेको जग्गा २०७९ मा आएर आफ्नै नाममा दर्ता गर्दा एक परिवार विचल्लीमा परेका हुन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बगपुरमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ रेलका लालमुणि ओझाले सुकुम्बासी समस्या समाधान आयोगबाट २०५१ मा १० कट्ठा जग्गा पाए। सुकुम्बासी समस्या समाधान आयोगबाट सुकुम्बासी हुँ भन्दै पाएको जग्गा ओझाले २०५५ चैत २४ गते स्थानीय लालबहादुर बोहरालाई बिक्री गरे। १० कट्ठा जग्गाको दुई लाख मूल्य लिएर बिक्री गरेका ओझाले लालपुर्जा निकाल्ने समयमा बोहराकै नाममा जग्गा नामसारी गर्ने कागज गरेका थिए। तर, अहिले आएर ओझाले बोहरालाई थाहै नदिएर जग्गाको लालपुर्जा आफ्नो नाममा निकालेका छन्। मालपोत कार्यालयबाट लालपुर्जा निकाल्न ओझाले वडाको किर्ते कागजपत्र तयार गरेको लालबहादुरका छोरा खेम बोहराले बताए।
'हामीले २०५५ सालमा लालमुनि ओझाबाट दुई लाख दिएर जग्गा किनेका हौं। जग्गा बिक्री गर्दा ओझाले बुवाको नाममा रजिष्ट्रेसन गरिदिने तमसुक दिएका छन्,' बोहराले भने, 'अहिले मालपोतबाट लालपुर्जा निकाल्दा भने ओझाले किर्ते कागजपत्र मिलाएर हाम्रो भोगचलनमा रहेको जग्गा आफ्नो नाममा दर्ता गरेका छन्।' डडेल्धुराको गन्यापधुराका स्थायी बासिन्दा ओझा लालपुर्जा निकालेर अहिले सम्पर्क बिहिन भएको बोहराले बताएका छन्।
जग्गा हत्याउन किर्ते कागतपत्र तयार
ओझाले भने २४ वर्ष अगाडि बिक्री गरेको जग्गाको स्रेस्ता आफ्नो नाममा दर्ता गर्न वडा नम्बर १४ को कागजपत्र, सरकारी छाप दुरुपयोग र तत्कालिन वडा सचिव टेकबहादुर खत्रीको हस्ताक्षर किर्ते गरेका छन्। ओझालाई किर्ते कागजपत्र तयार गर्न ज्वाइँ नाता पर्ने 'सी'गाउँका जयानन्द भट्टले मुख्य भूमिका खेलेको पीडितले बताएका छन्। वडाले जग्गाको भोगचलन कसले गरेको छ भनेर सरजमिन मुचल्का गरेर यथार्थ कुरा बुझेर मात्रै सिफारिस गर्नुपर्ने भए पनि ओझा र भट्टले वडा कार्यालयको तर्फबाट फर्जी सरजिमिन मुचुल्का तयार गरेको भेटिएको छ। सरजिमिन मुचुल्कामा बगपुरका कुनै पनि व्यक्तिको बयान र नाम उल्लेख छैन। भट्टकै योजनामा बगपुरभन्दा बाहिरका मान्छेलाई सरजमिनमा राखिएको छ। सरजमिन मुचल्कामा छिमेकका मानिस वा साँधसँधियार हुनुपर्नेमा तेस्रो गाउँका मान्छेलाई राखिएको खेम बोहराका आफन्त शिवराज कठायतले बताए।
तेस्रो गाउँका पाँच जना साक्षी
लालमुनि ओझाले १४ नम्बर वडा कार्यालयको नाममा तयार गरेको सरजिमिन मुचुल्का र सिफारिसमा बगरपुरगाउँका कसैलाई पनि साक्षी राखिएको छैन। ओझालाई किर्ते कागतपत्र तयार गर्न ‘सी’ गाउँका पाँच जना साक्षी बसेका छन्। 'सी' गाउँभन्दा घाङल टोल बगपुरको नजिक भए पनि साक्षी भने तेस्रो गाउँका व्यक्ति बसेका छन्। लालबहादुरले २०५५ मा किनेर भोगचलन गर्दै आएको जग्गा लालमुनि ओझाले 'हाल कसैलाई बेचविखन गरेको छैन। निजले नै जोतकमोत गरी हकभोग गर्दै आएको' भन्दै ओझाका ज्वाई नाता पर्ने जयानन्द भट्टसहित रामकुमार चौधरी, वीरेन्द्रबहादुर विष्ट, रामबहादुर चौधरी र शेरबहादुर थापामगर सार्जिमिन मुचुल्कामा साक्षी बसेका छन्।
वडा सचिवको हस्ताक्षर पनि किर्ते
ओझाले जयानन्द भट्टको सहयोगमा तत्कालिन वडा सचिव टेकबहादुर खत्रीको हस्ताक्षर पनि किर्ते गरिएको छ। २०७९ पुस ८ मा तयार गरिएको सरजिमिन मुचुल्का, वडा कार्यालयको सिफारिस लेखिएको लेटरप्याड र आफ्नो हस्ताक्षर किर्ते गरिएको सचिव खत्रीको दाबी छ। 'वडामा तयार गरिएको सरजिमिन मुचुल्का र सिफारिस पत्र फर्जी बनाएका हुन्,' उनले भने, 'मेरो हस्ताक्षर पनि किर्ते गरिएको छ। मुचुल्का र सिफारिस पनि फर्जी बनाइएको हो। पुसमा गरिएको यो कुराको जानकारी मलाई भर्खरै मात्र गराइएको हो।' वडा सचिव खत्रीको हाल वडा नम्बर १७ मा सरुवा भएको छ।
वडा अध्यक्षले फर्जी कागजलाई सदर गरे
बगपुरको जग्गाको सर्जिमिन मुचुल्कामा तेस्रो गाउँका व्यक्ति साक्षी बसेर तयार गरेको किर्ते सर्जिमिन मुचुल्कालाई वडा नम्बर १४ का कार्यबाहक वडा अध्यक्ष मानबहादुर खत्रीले सदर गरेका छन्। जग्गाको स्रेस्ता ओझाका नाममा कायम गर्न मालपोत कार्यालय धनगढीलाई लेखिएको सिफारिस पत्रमा पनि कार्यवाहक वडा अध्यक्ष खत्रीले हस्ताक्षर गरेका छन्। तर, आफूलाई ओझासहित जयानन्द भट्ट र अन्य साक्षीहरूले झुक्याएर हस्ताक्षर गर्न लगाएको दाबी कार्यवाहक खत्रीको छ।
'उनीहरूले सचिवको कोठाबाट वडा अध्यक्षको कोठामा आएर हस्ताक्षर गर्न लगाएका हुन्। मैलै सचिवले कागजपत्र दिएका होलान् भनेर हस्ताक्षर गरेको हुँ,' उनले भने, 'जयानन्द भट्ट र अन्यले मलाई झुक्याएका हुन्।'
सिफारिस पत्रको चलानी फरक
ओझाका लागि तयार गरिएको सिफारिस पत्र र सरजमिन मुचुल्का नक्कली भएको पुष्टि हुने थुप्रै प्रमाण रहेको तत्कालिन वडा सचिव खत्रीले बताएका छन्। उनले मालपोत कार्यालय गएर सिफारिस हेर्दा नक्कली लेटरप्याडमा फर्म्याट नमिलाएरै सिफारिस गरिएको बताए। मुचुल्का र सिफारिस पत्रको व्यहोरा, पत्रको चलानी नम्बर र राजश्व दाखिला नभएको पाइएको वडा सचिवको दाबी छ।
बोहरा परिवारको उठीवास
लालबहादुर बोहराका छोरा खेम बोहराले जग्गा नाममा दर्ता गरेपछि घरजग्गा छोड्न भन्दै ओझाले धम्की दिन थालेको बताएका छन्। उनले बरेलीमा चौकीदारी गरेर जम्मा गरेको पैसाले किनेको जग्गा गुम्दा उठीवास हुने चिन्ताले परिवारकै विचल्ली भएको बताएका छन्। जग्गा बिक्री गरेर सबै रकम बुझेर पनि अहिले सबैतिरबाट धोका भएको र कानूनी प्रक्रिया पनि राम्रोसँग थाहा नभएको बोहराले बताएका छन्। धेरैजसो समय भारतमै काम गर्ने बोहराले आइपरेको पीडा पनि प्रस्टसँग भन्न नसक्ने समस्या भोग्नु परेको बताएका छन्।
यो विषयमा जयानन्द भट्टसँग कुराकानी गर्न खोज्दा उनको फोन एकपटक घरका अन्य व्यक्तिले उठाए भने फेरि गर्दा फोन उठेन।