सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा रुख ढाल्दै वनको माटो उत्खनन्, सडक निर्माणको नाममा 'सेटिङ'

२०८० वैशाख २९, ०७:१० नारायण अवस्थी

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ को एकता महिला सामुदायिक वनबाट धमाधम माटो उत्खनन् भइरहेको छ। सडक निर्माणको नाममा सामुदायिक वनबाट अबैध रुपमा माटो उत्खनन् गर्ने काम भइरहेको हो।

सामुदायिक वनको करिब एक किलोमिटर क्षेत्रमा सडक बनाउँदै माटो अन्यत्र लाग्ने काम भइरहेको छ। सामुदायिक वनका पदाधिकारी, स्थानीय र केही दलका कार्यकर्ताहरूको मिलेमतोमा वनमा गल्छी काटेर माटो उत्खनन् गर्ने काम भइरहेको हो। एक्स्काभेटर, टिपर र ट्याक्टर लगाएर मनलाग्दी रुपमा ठुलो परिमाणमा माटो उत्खनन् हुँदै आए पनि नियमन कहिँकतैबाट नभएको एक स्थानीयले गुनासो गरे। उनले ठेकदारबाट पैसा खाएर वनको माटो बिक्री गर्ने काम भएको बताए।

एकता सामुदायिक वनमा गैरकानुनी रुपमा एक्स्काभेट र टिपर लगाएर केही दिनदेखि माटो उत्खनन् भइरहेको हो। करिब एक किलोमिटर क्षेत्रको वनको अग्लो भाग खन्ने र माटो अन्यत्र लग्ने काम भइरहेको हो। गैरकानुनी रुपमा वनका रुख ढाल्ने र वन क्षेत्रको माटो पैसा खाएर बिक्री गर्ने काम भइरहेको स्थानीय धनराज जोशीले बताए।'एकता समुदायिक वनमा वन कार्यालयको आदेशको उल्लंघन गरेर माटो बिक्री गर्ने काम भइरहेको छ,' उनले भने, 'वन ऐन विपरीत सत्प्रतिशत गलत काम भइरहेको छ।'

वनका पदाधिकारी र वडा सदस्य नै माटो बिक्रीमा संलग्न
सामुदायिक वनका अध्यक्ष लक्ष्मी बोहरा, वडा नम्बर २ का निर्वाचित एक जना वडा सदस्य र जङ्गल किनारमा बस्ने स्थानीयसहित ८० जनाको डेलिगेसन सब डिभिजन वन कार्यालय अत्तरिया, धनगढी डिभिजन वन कार्यालय र मुख्यमन्त्री कार्यालय पुगेर वनमा सडक खन्ने वातावरण निर्माण गरेका हुन्। सडक बनाउने नाममा डाडो र ढिस्को भएको वन क्षेत्रमा एक्स्काभेटर लगाएर माटो अन्यत्र लैजाने काम निर्माण व्यवसायी जनक शाहीले गरिरहेका छन्।

शाहीलाई माटो उत्खनन् गर्न स्थानीय धर्म कुँवर, सामुदायिक वनका पदाधिकारी र केही युवाले सहयोग गर्दै आएका छन्। धर्म कुँवरले भने १५ वर्ष पुरानो सडकलाई राम्रो बनाउने काम भएको तर माटो बिक्री गर्ने काम नभएको बताएका छन्। निर्माण व्यवसायी शाहको भने सामुदायिक वन र युवा क्लबसँग पैसा लिएर सडक बनाइ रहेको दाबी छ। 'यहाँका स्थानीयको माटो सम्याइ मागेकाले काम गरेका हौँ। सबैको आग्रह र सामुदायिक वनको निर्णयले काम गरिएको हो,' उनले भने, 'ऐन विपरीत काम भएको छैन। सामुदायिक वन र युवा क्लबको लगानीमा पुरानो बाटो बनाएका हौँ।'

वन कार्यालय र वन अधिकारी निरीह
वनमा सडक बनाउने सहायक उद्देश्य भएपनि मुख्य उद्देश्य भने माटो खनेर अन्यत्र लग्नु रहेको स्थानीयले बताएका छन्। करिब एक किलोमीटर लामो सडक खन्ने बाहनामा सयौं टिप्पर माटो अन्तै लगिएको छ।

वन ऐन, २०७६ को दफा ४९ को (ग) र (झ) अनुसार वन क्षेत्रको जग्गा जोत्ने, खन्ने उत्खनन गर्ने, आवाद गर्ने सडक तथा अन्य पूर्वाधार निर्माण गर्न र माटो झिक्न निषेध गरिएको छ। तर प्रदेशको राजधानी क्षेत्रका सामुदायिक वनमा प्रदेश सरकारको सहजीकरणमा अतिक्रमण र दोहन हुने काम भइरहेको हो। पटकपटक माटो उत्खनन् गर्ने काम रोक्न निर्देशन दिएको तर नमानेको अत्तरिया सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत निरन्जन कडालले बताए। 'हामीले पटकपटक निर्देशन दिएर माटो नखन्न भनेका छौँ तर उहाँहरू मान्नुहुन्न,' उनले भने, 'वन डिभिजन कार्यालय र मुख्यमन्त्री कार्यालय गएर बाटो खन्न वातावरण बनाएको बुझिएको छ।'

एकता सामुदायिक वनमा भएको माटो उत्खनन् रोक्न गोदावरी नगरपालिकाबाट पनि वन कार्यालयलाई अनुरोध गरिएको वडा नम्बर २ का अध्यक्ष यज्ञबहादुर महराले बताए। तर, सडक खन्ने र खनाउने पक्ष स्थानीय सरकार र वन कार्यालयभन्दा बलिया र पहुँचवाला निक्लेको स्थानीयले बताएका छन्।

धनगढी डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत केशवप्रसाद पराजुलीले भने बैलालीमा वन जोगाउन निकै चुनौतीपूर्ण काम रहेको दुखेसो पोखेका छन्। 'कैलालीमा वन जोगाउन निकै कठिन छ। प्रदेश र स्थानीय सरकारले वनमै बजेट हाल्छन्,' उनले भने, 'हाम्रो पुरानो तथ्याङ्कमा ३० हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको देखिन्छ। रोक्ने प्रयास हामीले मात्र गर्दा सम्भव छैन। अन्य निकाय र जनताको साथ मिल्दैन।'

एकता सामुदायिक वनमा पुरानो असजिलो सडकलाई स्तरीय बनाएर नाली र ग्राभेल गर्ने सर्तमा निर्माण व्यवसायी शाहीलाई माटो उत्खनन् गर्न दिइएको सडक खन्ने अभियानमा संलग्नहरूले बताएका छन्। सडक खन्दा केही सालका रुख पनि ढालिएका छन्। ढालिएका रुख काट्ने र गोलिया बनाउने काम भएको छ।

तर, वनका रूख काट्न र व्यवस्थापन गर्न सामुदायिक वनको कार्ययोजना वन कार्यालयले स्वीकृत गरेको हुनुपर्छ भने रूख छपानपछि मात्रै काट्न र व्यवस्थापन गर्न मिल्छ। तर प्रदेश राजधानीको एकता सामुदायिक वनमा खुलेआम वन क्षेत्रको माटो बिक्री र रुख काट्ने काम भएको घटनामा वन कार्यालय र स्थानीय सरकार निरीह देखिएका छन्।  सेटिङमा वनको माटो बिक्री गर्ने काम भएको स्थानीयले दाबी गरेका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस