सुदूर नेपाललाई विश्वसँग जोड्दै

शून्य नतिजा ल्याउने १७ विद्यालय अब बन्नेछन् अब्बल, यस्ता छन् सुधारका योजना

२०८० वैशाख २३, ०७:१९ नारायण अवस्थी

धनगढीः शून्य नतिजा ल्याउने १७ विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने धनगढीका सामुदायिक विद्यालयहरुले दाबी गरेका छन्। आधारभूत तह कक्षा ८ को परीक्षामा शून्य नतिजा ल्याउने सामुदायिक विद्यालयले चालु शैक्षिक सत्रमा विद्यार्थीको सिकाइ उपलब्धि सुधार्ने दाबी गरेका हुन्। विद्यालयमा दैनिक गरिने पठनपाठनमा व्यापक सुधार गरेर नतिजा उल्ट्याउने विद्यालयका प्रधानाध्यापकको तर्क छ।

विद्यार्थीहरूको पढाईप्रतिको लगाव बढाउन अभिभावक र शिक्षकलाई जिम्मेवार बनाएर काम गर्ने प्रधानाध्यापकहरूको योजना छ। अहिलेको परीक्षाको नतिजाले अभिभावकमा नैराश्यता छाएकाले आगामी वर्ष ५० प्रतिशत नतिजा सुधार्ने किसिमले मेहनत गर्ने फूलबारीको खप्तडी आधारभूत विद्यालयका प्रधानाध्यापकले बताए।

कक्षा ८ को नतिजाले विद्यालयको सिकाइमा व्यापक सुधार गर्नुपर्ने पुष्टि गरेकाले सबै पक्षसँग सहकार्य गरेर नतिजा सुधार्ने सरस्वती आधारभूत विद्यालय शान्तिनगरका प्रधानाध्यापक पदमराज जोशीले बताएका छन्। उनले नतिजामा सुधार ल्याउन सक्दो प्रयास गर्ने बताएका छन्। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सिकाइमा सुधार गर्न अभिभावक र विद्यार्थीमा इच्छाशक्ति जगाउनुपर्ने बताएका छन्।

शिक्षक र अभिभावकहरूको सामूहिक प्रयासले विद्यार्थीमा सिकाइप्रति आकर्षण बढाउने क्रियाकलाप गरिने नवज्योति आधारभूत विद्यालय श्रीलंकाका प्रधानाध्यापक खगेन्द्रप्रसाद भण्डारीले बताएका छन्। उनले कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरेर अभिभावकहरूलाई पनि जिम्मेवार बनाएर काम गर्ने अठोट व्यक्त गरेका छन्। सामुदायिक विद्यालयमा अभिभावकको चासो नहुनु र विद्यार्थीले बिचमै कक्षा छोड्नु प्रमुख समस्या रहेको छ।

यस्तै, शैक्षिक सामग्रीको अभाव, पठन संस्कृतिको विकास नहुनु र शिक्षकहरू शिक्षण कार्यबाट विमुख हुनाले सामुदायिक विद्यालयको पढाईको स्तर खस्किएको विश्लेषण गरिएको छ। तर, बदलिँदो परिस्थितिमा विद्यालयको शैक्षिक अवस्था सुधार गर्न तत्परताका साथ लाग्ने भानु माध्यमिक विद्यालय पथरीका प्रधानाध्यापक चक्रबहादुर विकले बताएका छन्। ‘हामीले फरक ढङ्गले काम गर्नुपर्ने देखिएको छ। सबै पक्षमा आवश्यक सुधार ल्याएर पठनपाठन अगाडि बढाउने योजनामा लागेका छौँ,’ उनले भने, ‘यो वर्यको नतिजाले सुधार गर्नैपर्ने देखाएको छ।’

अहिलेको कक्षा ८ को नतिजाले नपढी पास भइन्छ भन्ने कुरा चिरिएको धनगढी–१८ को इन्द्रोदय आधारभूत विद्यालयका प्रधानाध्यापक रामकुमार बस्नेतले बताए। ‘परीक्षाको मर्म जस्तो हुनुपर्ने थियो त्यो लागु भएको छ,’ उनले भने, ‘अहिले शून्य आएको नतिजा उत्कृष्ट बनाउन लाग्ने छौँ।’ विद्यालयमा शैक्षिक सामग्रीको अभावले पठनपाठन प्रभावित हुने गरिएको शिक्षक तथा प्रधानाध्यापकले बताउँदै आएका छन्।

सामुदायिक विद्यालयमा पढ्न आउने बालबालिकासँग शैक्षिक सामग्रीको नहुने अवस्था रहेको छ। विद्यार्थीसँग सामग्री नहुने र विद्यालयहरूले पनि प्रदान गर्न नसक्ने अवस्था रहेको गुनासो प्रधानाध्यापकहरूले गरेका छन्। तर, धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले शैक्षिक सामग्रीको अभाव हुन नदिन १७ विद्यालयलाई यो वर्ष १० लाख मूल्य बराबरका शैक्षिक सामग्री उपलब्ध गराउने बताएका छन्।

‘विद्यालयमा कापी, कलम र अन्य शैक्षिक सामग्रीको अभाव रहेको कुरा गरिएको छ। विद्यार्थीहरूलाई निःशुल्क कापी, कलम र अन्य सामग्री उपलब्ध गराउँछौ भन्नु होस्,’ उनले भने, ‘१७ विद्यालयलाई यो वर्षको मेरो सेवा सुविधाको पैसामा थपेर १० लाखको शैक्षिक सामग्री दिन्छु। नतिजामा सुधार ल्याउन प्रयास सबैले गर्नुपर्छ।’

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस