क्षेत्रीय सहरी विकास आयोजनामा बजेट अभाव, धनगढीमा २३ मध्ये ७ सडक मात्रै बन्ने
क्षेत्रीय सहरी विकास आयोजनामा बजेट अभाव हुने देखिएको छ। सडक निर्माणका लागि बजेट अभाव हुने देखिएपछि लक्ष्यको झण्डै ३१ किलोमिटर कम साढे १० किलोमिटर मात्रै सडक बन्ने भएको छ। एसियाली विकास बैंकको ऋण लगानीमा सुरु भएको आयोजना अन्तरगत उप–महानगरमा ४२ किलोमिटर सडक निर्माणको लक्ष्य रहेको थियो। आयोजनाका इञ्जिनीयर तथा सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले बजेट अभाव भएपछि साढे १० किलोमिटर सडक मात्रै निर्माण हुने बताए। उनले डिजायन स्टीमेट ४२ किलोमिटर सडककै निर्माण भएपनि सडका लागि एक अर्ब ३५ करोड मात्रै बजेट भएकाले साढे १० किलोमिटर मात्रै सडक बन्ने बताए। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजना कार्यान्वयनमा ढिलाई हुँदा महंगी बढेकाले बजेट अपुग रहेको उनले बताए।
अहिले महंगी बढेकाले पहिलेको लागत, स्टिमेट अनुसार सडक बन्न नसक्ने उनले बताए। आयोजना अन्तरगत एक किलोमिटर सडक निर्माण गर्दा ९ देखि ११ करोड लागन लागत देखिएको छ। सवै ४२ किलोमिटर सडक निर्माण गर्ने हो भने ४ अर्व बढि बजेट आवश्यक रहेको आयोजना कार्यालयले जनाएको छ। बजेट अभाव हुने देखिएपछि साढे १० किलोमिटर सडक निर्माणका लागि मात्रै टेण्डर आह्वानको तयारी भईरहेको ईन्जिनियर बुढाथोकीले बताए। यद्यपी आयोजना समन्वय कार्यालयललाई थप बजेट भने माग गरिएको उनले बताए। एक दशमलव ३८ किलोमिटरको धनगढी मुख्य सडक (चौराह–कैलालीपुल), संघिय प्रहरी देखि चर्च सम्मको दुई दशमलव सात किलोमिटर सडक, सात सय मिटरको क्याम्पस गेट–जाखोरताल सडक, तीन दशमलव ६५ किलोमिटरको क्याम्पसगेट–चटकपुर सडक, आठ सय ७० मिटरको डिभोटी–पिपलचौतारा सडक, एक दशमलव १५ किलोमिटरको हसनपुर सडक र चार सय ३० मिटरको मालपोत सडक निर्माण हुने छ।
यद्यपी उप–महानगरपालिकाले भने एसियाली विकास बैंक अन्तरगतका योजनामा चरणवद्ध काम हुने भएकाले पहिलो चरणमा साढे १० किलोमिटर सडक बन्ने बताएको छ। बाँकी साढे ३१ किलोमिटर सडक भने अर्को चरणमा बन्ने उप–महानगरपालिकाले जनाएको छ।