बैतडीको सुर्नया गाउँपालिकाले सार्वजनिक बिदाको दिन सेवा दिने
धनगढीः बैतडीमा एक स्थानीय तहले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भएको छ।
जिल्लाको सुर्नया गाउँपालिकाले एक सूचना जारी गर्दै बिदाको दिन पनि सेवा दिन जनाएको छ। शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन गाउँपालिकाले सेवा दिने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए। अब बिदाको दिन सबै वडा कार्यालय, स्वास्थ्य संस्था र गाउँपालिकाबाट प्रवाह हुने सेवा सञ्चालन हुनेछ।
नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने व्यवस्था गरेअनुरूप गाउँपालिकाले पनि सेवा प्रवाह गर्ने निर्णय गरेको हो। यसअघि जिल्ला प्रशासन कार्यालयले बेतडीलेपनि सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो।