सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र युएई खेल्दै

२०८० वैशाख १८, ०७:४१ खबर संवाददाता

काठमाडौं: एसीसी मेन्स प्रिमियर कपको फाइनलमा आज सोमबार नेपाल र युएई खेल्दै छन्। नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ। उता, नेपालसँग जित हात पारेर युएई चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ।

नेपाल र युएईबीचको खेल बिहान नौ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। सन् १९८४ बाट सुरु एसियाकपको १६ औं संस्करणको प्रतियोगितामा नेपाल पहिलो पटक सहभागीता जनाउने लक्ष्यमा रहेको छ। पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो। उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। 

नेपाल र युएईबीच २०१८ पछि भएको १३ खेलमा नेपाल सात तथा छ खेलमा जितेको छ। नेपाल र युएईबीचको पछिल्लो भेटमा नेपाल विजयी भएको थियो। सोमबार फाइनल खेल हुने टियु मैदानमा नेपाल पछिल्लो १५ खेलदेखि अपराजित रहेको छ। युएईसँग टियु मैदानमा भएको पछिल्लो चार खेलमा नेपाल अपराजित रहेको छ। 

युएई ब्याटरहरु पछिल्लो समयमा केही लयमा रहनु नेपालका लागि चुनौती हुनसक्छ। नेपालका बलरहरु त्यस चुनौतीलाई पन्छाउन तयार रहेका छन्। फाइनल खेल तय भएको सोमबार काठमाडौंमा वर्षा हुने सम्भावना छ। सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ। तर, सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ।

पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ। तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ। आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन्। खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ।

 एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ। एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन्। समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन्।

शीर्ष दुई टोली फाइनल खेल्नेछन्। एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ। एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन्। आइतबार भएको तेस्रो स्थानको खेल बर्षाका कारण रद्द भएसँगै ओडिआई मान्यता प्राप्त राष्ट्रको आधारमा ओमान विजेता बन्यो । विजेता बनेसँगै ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएको छ।

कमेन्ट लोड गर्नुस