सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा व्यावसायिक प्रयोजनका सटर र घर जताततै खाली, कारण यस्तो छ

२०८० वैशाख १७, १२:४३ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशको आर्थिक केन्द्र धनगढीमा व्यावसायिक प्रयोजनका सटर तथा घर जताजतै खाली देखिएका छन्। कोरोनापछि चुलिएको आर्थिक मन्दीका कारण दुई वर्षदेखि मुख्य सडक छेउछाउकै प्रायः घर तथा सटरहरू खाली हुन्। विगतमा बजार क्षेत्रका घर तथा सटर एक दिन पनि खाली नहुने भए पनि अहिले भने दुई वर्षदेखि सटर भाडामा नगएर घर धनी हैरान छन्।

दुई वर्ष अघिसम्म धनगढीको मुख्य सडकदेखि ६ लेन सडकको चटकपुर–बोराडाँडी क्षेत्रमा एउटा सटर पाउन वर्षौं कुर्नुपर्ने बाध्यता थियो। सटरका लागि अग्रिम भुक्तानी दिएर वार्षिक १० प्रतिशत भाडा बढाउने सम्झौताको कागज व्यवसायीले घर धनीलाई सहजै गरिदेन्थे। घर धनीहरूले मागेको भाडा ठिक महिनादेनमै पाउँथे। तर, यो अवस्था अहिले भने फेरिएको छ।

दुई वर्ष अगाडि एक दिन पनि सटर खाली नहुने अवस्था फेरिएर अहिले दुई वर्षसम्म पनि घर तथा सटर भाडामा नलाग्ने अवस्था आएको छ। कोभिडपछि फेरिएको अवस्थाले दुई वर्षदेखि चटरपुरमा ६ लेन सडकमा रहेको पाँच तले घर भाडामा नगएको घर धनी नरेन्द्र जोशीले बताए। ‘कोरोनापछि आएको मन्दीको कारणले हुनुपर्छ पूरै घर लिने मान्छे अहिलेसम्म आएका छैनन्,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर हुनु, बैंकबाट ऋण नपाउनु र ब्याजदर बढी हुनुले व्यापार गर्ने अवस्था नै छैन।’

हिजोआज धनगढीको मुख्य सडक, क्याम्पस रोड, बसपार्क क्षेत्र, ६ लेन सडक क्षेत्रका धेरै घर तथा सटरहरू भाडामा रहेको सूचना घर धनीले लगाएको देख्न सकिन्छ। घर धनीहरूले कोरोनापछि आर्थिक गतिविधि घटेकाले व्यापारीक प्रयोजनका घर तथा सटर भाडा नगएका हुन्। चैतदेखि सटर खाली भए पनि व्यापर गर्छु भन्ने मान्छे नपाउँदा पसल भाडामा नगएको चटकपुरका गगनबहादुर मल्लले बताए।

‘चैतदेखि सटर भाडामा रहेको सूचना लागाएको छु,’ उनले भने, ‘नास्ता पसल गर्छु भन्ने आउँछन् तर गतिलो पसल गर्ने सस्तोमा भाडामा दिन्छु भन्दा पनि आएका छैनन्।’ दैनिक जसो सटर खाली हुने क्रम बढेपछि बजार क्षेत्रका घरधनी चिन्तित भएका छन्। धनगढीको मुख्य बजार र सहिद गेट क्याम्पस रोडमा मात्र होइन, भाडाकै प्रयोजनका लागि निर्माण गरिएका ठुला भवनहरुका सटर खाली छन्।

कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दिको कारण सटर भाडामा नगएको बुझाई दधिराम गौतमको छ। ‘पहिले सटर भाडामा खोज्ने दैनिक आउने गर्थे। कागज आफैं बनाएर दुई वर्षपछि हरेक वर्ष १० प्रतिशत भाडा बढाउन सहमत हुन्थे,’ उनले भने, ‘अहिले भने भाडा घटाउदा पनि कोही आउँदैनन्। बसेका पनि भाडा तर्न सकेन भनेर छोडेर जान्छन्।’

विगत वर्षमा सटर सटर पाउन व्यवसायीले अनुरोध र सोर्सफोर्स लगाउनुपर्थ्यो भने यो वर्ष सटर छोड्नेको संख्या बढेको छ। घर धनीहरूले सटर भाडामा दिन सूचना टाँस गर्दा पनि आर्थिक कारणले व्यापारीहरू पलायन हुन थालेका छन्। बैंकको चर्को व्याज, सरकारको आर्थिक नीतिका कारण व्यवसाय गर्न मुस्किल भएको एक प्रमाण सटर खाली हुनु रहेको कैलाली उद्योग वाणिज्य  संघका महासचिव ओम विष्टले बताए। ‘कोरोनापछि सरकारको आर्थिक नीतिका कारण अहिलेको अवस्था आएको हो,’ उनले भने, ‘सरकार र बैंकको गलत नीतिको कारण व्यवसायीहरू दैनिक पलायन भइरहेका छन्।’
‘घरभाडा नै अचाक्ली’
बैंकको चर्को ब्याजदर, कर्जा नपाउने अवस्था र व्यापारमा आएको मन्दीले व्यवसायी हतोत्साही बनेको बेला घर धनीहरूको चर्को भाडाले पनि व्यवसाय छोड्नुपर्ने अवस्था आएको बताएका छन्। घर धनीहरूले मनलाग्दी भाडा बढाउने, व्यापार व्यवसाय भने हुन छोडेकाले बजारमा टिक्न समस्या भएको व्यवसायीहरूले बताएका छन्। हरेक वर्ष भाडा बढ्ने, अग्रीम पेश्की दिनुपर्ने, घर धनीको आयकर पनि व्यवसायीले नै तिर्नुपर्ने, व्यवसाय राम्रो चले पसल सार्न लगाउने जस्ता गतिविधिका कारण पीडित भएको व्यापारीहरूले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस